ad ad

खेल


एपीएफ पुलिसलाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेटकाे फाइनलमा

एपीएफ पुलिसलाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेटकाे फाइनलमा

नेपालखबर
माघ १४, २०७७ बुधबार १०:५५,

साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिसलाई ३० रनले पराजित गर्दै उपाधि दूरी छाेट्याएकाे हो।

एपीएफले उपाधिका लागि भोलि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी क्लव र वाग्मती प्रदेश खेल्नेछन्। फाइनल खेल शनिबार हुनेछ।

एपीएफले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पुलिस ४९ दशमलव २ ओभरमा १ सय ७३ रन जोड्दा अलआउट भयो।

खेलको सुरुवातमा नै तिन विकेट गुमाएको पुलिस दबाबमा आएको थियो। लगातारको विकेट पतनलाई मध्यक्रमका ब्याट्सम्यानले पनि सम्हाल्न नसक्दा पुलिस हार भोग्न बाध्य भयो।

पुलिसका लागि पवन सर्राफले जोडेको ४० रनको महत्वपुर्ण योगदान दिए। ६१ बलको सामना गरेका पवनले २ चौका र १ छक्का हाने।

५१ बलको सामना गरेका राशिद खान ३ चौका र १ छक्का हान्दै ३४ रनमा पवेलियन फर्के।

चौथो विकेटका लागि अनिल शाह र दिपेन्द्र सिंह ऐरिले ४६ रनको साझेदारी गर्दै केही आशा जगाएपनि हार टार्न भने सकेनन्।

ओपनिङ ब्याट्सम्यान सुनिल धमाला ३ र कुशल भुर्तेल शुन्य रनमा एलबीडब्लु धरापमा परे। अमित श्रेष्ठ ८ रन जोड्दा भुवन कार्कीको हातबाट क्याच आउट हुन पुगे। दिपेन्द्र सिंह ऐरि ३३ रन जोड्दा विकृट किपरबाट क्याच आउट हुन पुगे। ६९ बलको सामना गरेका ऐरिले २ चौका हाने। अनिल शाह २१, कप्तान मञ्जीत श्रेष्ठ ३ रनमा पवेलियन फर्के।

पुलिसलाई कम स्कोरमा रोक्न भुवन कार्कीले ४, कमल ऐरी, शरद भेषावकर र अविनास बोहोराले समान २ विकेट लिए। ९ दशमलव २ ओभर बलिङ गरेका भुवनले १ मेडन राख्दै मात्र २१ रन खर्चे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिस क्लवले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो।

एक समय १४ ओभरमा ४ विकेट गुमाएर ४३ रनको स्थितिमा रहेको एपीएफका लागि सुदीप जोरा र शंकर रानाले ६४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।

९६ बलको सामना गरेका रानाले ४ चौका हान्दै ४४ रनको योगदान दिए। ४३ बलको सामना गरेका जोराले ३ चौका र १ छक्का हान्दै ३४ रन जोडे।

भुवन कार्कीले ४२ रनको योगदान गरे। ५६ बलको सामना गरेका कार्कीले १ चौका र २ छक्का हाने।

सुवास खकुरेल र कमल ऐरीले समान १९, कप्तान शरद भेषावकर १८ रन जोडे। आशिफ शेख र सुमित महर्जन एक एक रनमा पवेलियन फर्के।

अभिनास बोहोरो ११ र सुर्य तामाङ १ रनमा नटआउट रहे। ५ बलको सामना गरेका बोहोराले अन्तिमको २ बलमा एक छक्का र एक चौका हाने।

पुलिस क्लवका आरिफ शेखले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए। दिपेन्द्र सिंह ऐरि र ललित राजवंशीले समान २ विकेट लिए। सागर ढकाल र रासिद खानको नाममा समान १ विकेट रह्यो।

चोट बोकेरै क्रिजमा आए आरिफ
पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा घाइते भएका आरिफ शेख दशौं नम्बरमा क्रिजमा आएका थिए। ४७ औ ओभरको पहिलो बलमा राशिद खान आउट भएपछि आरिफ क्रिजमा आएका थिए।

चौथो बलमा छक्का प्रहार गरे। ४९ औं ओभरको तेस्रो बलमा ठुलो सट खेल्ने धुनमा रहेका आरिफ डिप मिड विकेटमा क्याच आउट हुन पुगे। १४ बलको सामना गरेका आरिफले १ छक्का र २ चौका प्रहार गर्दै १६ रन जोडे।

आरिफ पहिलो इनिङ्सको ४६ औं ओभरमा फिल्डिङ गर्ने क्रममा गल्ली क्षेत्रमा घाइते हुन पुुगेका थिए। उनको खुट्टाको एङ्कलमा चोट लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .