अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल प्रहरीबीच साँगास्थित नेपाल प्रहरी स्कुलमा फुटबल एकेडेमी सञ्चालन गर्ने समझदारी भएको छ।
समझदारीपत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल प्रहरीका एआईजी निरज बहादुर शाहीले नक्सालस्थित प्रहरी मुख्यालयमा हस्ताक्षर गरेका हुन्।
सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र अन्य वरिष्ठ प्रहरी अधिकारीको उपस्थिति थियो।
समझदारीअनुसार कुल २१ जना विद्यार्थीलाई भर्ना गरिनेछ। जसमा सात जना प्रहरी स्कुलबाट, सात जना एन्फाले छात्रवृत्ति कार्यक्रमबाट देशभरबाट छनोट गरेर र बाँकी सात जना इच्छुकमध्ये रहनेछन्।
एन्फाले एकेडेमीलाई चार वर्षसम्म प्राविधिक सहयोग गर्नेछ।
यसबाहेक एन्फाले दुई वर्षसम्म खेलाडी र खेल सामग्री सहयोगलाई अन्य वर्षमा पनि निरन्तरता दिनेछ।
कार्यक्रममा एन्फा उपाध्यक्षहरु शिक्षित पराजुली, उपेन्द्रमान सिंह, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु हरि खड्का, लिग कमिटी प्रमुख विज्ञानराज र्शा र अन्य अधिकारी तथा नेपाल प्रहरीका अधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया