बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तगर्त युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु भएको छ।
शनिबार एक कार्यक्रमकाबीच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गरेका हुन्।
कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, विषयविज्ञता र बजारको बस्तुस्थीतिबारे राम्रो ज्ञान हुन आवश्यक रहेको बताए।
घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरुकै लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह समेत गरे। मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुंगानाले युवा मैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आगामी वर्ष युवा लक्षित कार्यक्रमलाई बढाउँदै जाने बताए।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोच माथी लगानीगर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह गरे। सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा वितरणमा अन्य बैंक भन्दा निकै अघि रहेको उल्लेख गदैं आगामी दिनमा युवा उद्यमी प्रवद्र्धनमा बैंक क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे।
सोही समारोहमा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं बैंकर वर्षा श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक विशाल गैरे, एड मार्क कलेजका संस्थापक शिवप्रसाद अधिकारी लगायतले मन्तब्य राखेका थिए।
कार्यक्रमको दोस्रो र तेस्रो सेसनमा युवा स्वरोजगार कोषका पूर्व कार्यकारी निर्देशक बिनोद गुरागाई, त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका सहायक डिन डा. ध्रुवराज पोखरेल, खल्ती डटकमका अमित अग्रवाल, पैचो पसलका प्रवन्ध सञ्चालक ध्रुव न्यौपाने, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेन्द रमण खनाल, महिला उद्यमी भारती पाठक, अञ्जु पौडेल लगायतले विभिन्न सेसनमा बोलेका थिए।
सरकार, वित्तिय संस्था र निजि संस्थाको संयुक्त आयोजनामा सुरु भएको यो कार्यक्रम बागमती प्रदेशभित्रका ६ वटा (व्यवस्थापन–बीबीए/एमबीए) कलेजहरु र सामाजिक संस्थाहरु (लियो-रोट्याकक्लव) सँगको सहकार्यमा चितवन, हेटौँडा, धुलिखेल र सिन्धुली जिल्लामा गरी १० वटा बृहत उद्यमशीलता र बित्तिय साक्षरता सहितको युवा उद्यमी प्रवद्र्धनकार्यक्रम आयोजना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए।
युवाहरुलाई उद्यम व्यवसायतर्फ आकर्षित गर्न, विद्यार्थीमा अध्ययन पुरा गरेपछि जागिर खोज्ने भन्दा आफैले नयाँ उद्यम सुरुवात गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ सञ्चालन हुने यो कार्यक्रमको एउटा सेसनमा २०० जना युवा विद्यार्थीलाई राखेर स्वदेश तथा विदेशमा उद्यमशीलता विकास, नयाँ अवशरहरु, इनोभेसन र टेक्नोलोजी, नेपालमा नयाँ स्टाट अफ कम्पनीलाई सरकारले दिने अनुदान, बैंकहरुको लगानी, कम्पनी दर्ता र यसका चुनौति, बजार विस्तार लगायतका विभिन्न बिषयमा केन्द्रित रहनेगरी कार्यक्रम सञ्चालनगरिने कार्यक्रमका संयोजकएवं विशाल फाउण्डेशनका कार्यकारी निर्देशक विशाल गैरेले जानकारी दिए।
सरकार, बैंक र सामाजिक संस्थासहितको सहभागीतामा गत मंसीर २४ गते उद्घाटन भएको नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमलाई समेत यो कार्यक्रमले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ। वाणिज्य बैंक र विशाल फाउण्डेशनले सुरु गरेको आइडिया कलकार्यक्रममा आवेदन दिने समय यही माघ मसान्तसम्म समय रहेको छ। पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो।

प्रतिक्रिया