गत वर्ष २ ठूला ऐतिहासिक उपलब्धि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीले ‘टिम अफ दि इयर’ विधामा पल्सर स्पोर्ट्स अवार्ड जितेको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा महिला टोली टिम अफ द इयर घोषित भएको हो।
गत वर्षको कात्तिक र मंसिरमा महिला टोलीले ठूला सफलता हासिल गरेको थिए। कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्णपदक जितेको नेपाली टोलीले पहिलो पटक स्वर्ण स्वदेश भित्र्याएको थियो।
च्याम्पियनसिपमा एक सेट पनि नगुमाएको नेपालले अपराजित यात्रा पार गर्दै फाइनलमा माल्दिभ्सलाई हराएको थियो। त्यो स्वर्ण नेपाली भलिबल टोलीले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो।
यस्तै मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले रजत पदक जितेको थियो।
३७ वर्षे साग इतिहासमा नेपाली महिला टोलीले रजत पदक जितेको त्यो पहिलो हो। नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै स्वर्ण पदकबाट चुकेको थियो। नेपालले कुनैपनि प्रतियोगितामा भारतलाई सेटले हराएको पनि पहिलो पटक हो।
सोही सफलताका कारण अरुणा शाहीको कप्तानीमा रहेको महिला टोली गत वर्ष एफआइभिबीको विश्व वरीयताको ८६ औं स्थानमा उक्लिन सफल भएको थियो।
Shares

प्रतिक्रिया