ad ad

खेल


ठूलो स्कोरले थिचिएको नेपाली ब्याटिङ

ठूलो स्कोरले थिचिएको नेपाली ब्याटिङ

नेपालखबर
साउन १२, २०७६ आइतबार ११:४८,

घरेलु टोली सिंगापुरले प्रतियोगितामा राम्रो क्रिकेट खेलेपनि नेपालको स्तरमा भने कमजोर मानिएको थियो। तर, कप्तान पारस खड्काले खेलअघि टि–२० फम्र्याट भएकाले सिंगापुरविरुद्ध ‘बेष्ट अफ द बेष्ट’ खेल्नुपर्ने र आफूहरु त्यसैअनुसार खेल्ने बताए।

तर, आइतबार कप्तानसहित नेपाली टोलीको बोलाई र खेलाईमा पूरै भिन्नता देखियो। नेपालले सिंगापुरविरुद्ध ‘बेष्ट अफ द बेष्ट’ नभएर ‘वस्र्ट अफ द वस्र्ट’(खराबको पनि खराब) खेल्यो। नेपाली क्रिकेटलाई नियमित फलो गर्ने जो सुकैले पनि सिंगापुरविरुद्धको नेपालको खेललाई लज्जास्पद नै मान्छन्।

सिंगापुरसँगको ८२ रनको हारले नेपालको ग्लोबल छनौटमा हुँदै विश्वकपसम्म पुग्ने सपना पनि तुहाईदिएको छ। कप्तान पारसले सिंगापुरविरुद्ध हारेपछि भने, ‘हामीले प्रतियोगिताभरि नै राम्रो क्रिकेट खेल्न सकेनौं।’

तुलनात्मक रुपमा कमजोर मानिएका टोलीहरु भएकाले नेपाल सिधैँ विजेता बन्दै ग्लोबल छनौटमा पुग्ने प्रतियोगिता अघि धेरैको अनुमान थियो।

तर, पहिलो खेलमा नै नेपाल कतारसँग ४ विकेटले स्तब्ध बन्यो। त्यसको कारण टोलीको असन्तुलन मुख्य रह्यो। टोलीमा ६ जना मुख्य बलरहरु प्रयोग गरिएका थिए। जसले एक ब्याट्सम्यानको अभाव श्रृजना भयो।

मध्यक्रम नचलेको उक्त खेलमा पारसले करण केसी र सोमपाल कामीलाई अलराउण्डरका रुपमा खेलाएको बताएपनि उनीहरु प्रतियोगिताभरि नै अलराउण्डरको भुमिका निर्वाह गर्न सकेनन्। बलिङमा योगदान दिएपनि ब्याटिङमा भने उनीहरु चलेनन्।

त्यसकुरालाई मनन गर्दै एक ब्याट्सम्यान थपेर बाँकी खेलमा नेपालले ५ बलरलाई मात्रै प्रयोग गर्यो। मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्लले आक्रामक ब्याटिङ गर्दै २० रनमै अर्धशतक प्रहार गरेपछि वर्षाले ९ ओभरमा छोट्टाइएको खेलमा ८४ रनको लक्ष्य नेपालले ८ ओभरमै भेटायो।

यस्तै कुवेतविरुद्ध कप्तान पारस खड्का(६८) र शरद भेषावकर(३८)ले अनुभव देखाएपछि नेपाललाई जितमा खासै समस्या भएन्। सिंगापुरविरुद्ध भने नेपाली ब्याटिङ र बलिङ दुबैको राम्रो परिक्षा भयो। दुबैमा नेपाल फेल समेत भयो।

ब्याटिङका लागि उपर्युक्त पीचमा टस जितेर सिंगापुरले १९१ रनको विशाल लक्ष्य खडा गर्यो। जवाफमा ब्याटिङमा आएका नेपाली ब्याट्सम्यानलाई उक्त ठूलो लक्ष्यमै सधैँ थिचिरह्यो। सन्दीप लामिछानेको भाषामा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तिनवटै डिपार्टमेन्टमा कतिखेरपनि सिंगापुरको नजिक पुग्न सकेन्।

‘एउटा टिममात्रै ग्लोबल क्वालिफायर्समा पुग्ने भएकाले एकदमै प्रतिस्पर्धा थियो,’ सिंगापुरविरुद्ध ३ ओभर बलिङ गर्दै ३४ रन खर्चिएका सन्दीपले भने, ‘सिंगापुरले निकै राम्रो खेल्यो। हामी यस खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ कुनैपनि डिपार्टमेन्टमा कहीपनि उनीहरुका नजिक देखिएनौं।’

नेपाली टोलीको बलियो पक्ष बलिङ हो। तर, सिंगापुरका ब्याट्सम्यानहरुले शुरुबाट नै नेपाली बलरहरुमाथि आक्रामण थाले। उनीहरुले प्रत्येक ओभरमा औषतमा २ बाउन्ड्री प्रहार गरिरहेका थिए।

दुई विकेट लिएर २६ रनमात्रै खर्चिएका करण केसी र १५ रनमात्रै खर्चिएका सोमपाल कामीलाई ३–३ ओभर बलिङ दिइयो। जबकी ३ ओभरमै बिना विना विकेट ३५ रन खर्चिसकेका बसन्तलाई पुनः चौथो ओभर बलिङ दिइयो। चौथो ओभरमा बसन्तले १९ रन खर्चे। त्यसले उनलाई सबैभन्दा महँगो(४ ओभरमा ५४) बलर बनाइदियो।

पारसले त्यो कुरा महसुस गर्दै भने, ‘केही निर्णयहरु अरु नै भएको भए नतिजा फरक हुनसक्थ्यो।’

नेपालको सम्पूर्ण ब्याटिङक्रम ठूलो सट प्रहार गर्ने दबाबमा ध्वस्त भयो। कप्तान पारस खड्का लामो सट हिर्काउँने क्रममा मिडवनमा क्याच भए। अघिल्लो ओभरमा चार बाउन्ड्री हिर्काएका ज्ञानेन्द्र मल्ल लामो सट हान्न ब्याट घुमाउँदा बोल्ड भए।

शरदलाई पनि बाउन्ड्रीमा जनक प्रकाशले उत्कृष्ट क्याच गरेका थिए। उनले बाउन्ड्रीभन्दा बाहिर गईसकेको बललाई उफ्रेर एक हातले क्याच गर्दै शरदलाई पवेलियन फर्काएका थिए। यस्तै विनोद भण्डारीलाई बाउन्ड्रीमा एकपटक हातबाट भुत्किसकेको बल पुन: समात्दै सिंगापुरका खेलाडीले आउट गरे।

‘पीच ब्याटिङका लागि निकै राम्रो थियो,’ पारसले भने, ‘सिंगापुरले ब्याटिङ पिचको अधिकतम सदुपयोग गर्न सके। हामीले जस्तो ब्याटिङ गर्नुपर्ने हो त्यस्तो गर्न सकेनौँ। यो विकेटमा त्यति लक्ष्य भेटाउन सकिने नै हो, तर हामीले राम्रो गर्न सकेनौँ। दुःख लागेको छ। हाम्रो लक्ष्य ग्लोबल छनौटमा पुग्ने थियो तर राम्रो प्रदर्शन आवश्यक परेका बेला हामीले प्रदर्शन दिन सकेनौं। क्षमता र पोटेन्सियल अनुसार कुनैपनि बेला खेल्न सकेनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .