मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।
मंगलबार राति भएको खेलमा हैदराबादले प्लेअफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरिएको छ।
हैदराबादले १ सय ५० रनको लक्ष्य १७ दशमलव १ ओभरमा विकेटको क्षतिबिनै भेट्टायो। कप्तान डेभिड वार्नर ५ र ऋद्धिमान शाह ५ रनमा नटआउट रहे।
त्यसअघि शारजाहमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको थियो। काइरन पोलार्ड ४१ रनको योगदान दिए।
हैदराबादका सन्दीप शर्माले ३, शहबाज नदीम र जेसन होल्डररले २ तथा राशिद खानले १ विकेट झारे। समान १४ अंक भए पनि नेटरनरेटका आधारमा हैदराबादले कोलकातालाई पछि पार्दै अन्तिम ४ मा रहेर प्लेअफमा स्थान बनाउन सफल भएको हो।
योसँगै आईपीएलको प्लेअफ समीकरण पनि पूरा भएको छ।

मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लोर गरी ४ टोलीले प्लेअफमा स्थान बनाएका हुन्। कोलकाता नाइट राइडर्स, किंग्स इलेभेन पन्जाब, चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स लिग चरणबाट बाहिरिने चार टोली बने।
१४ खेलमा १८ अंक जोडेको मुम्बइ आईपीएलको शीर्ष स्थानमा छ। समान खेलबाट १६ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ।
आईपीएलको पहिलो क्वालिफायर खेलमा बिहीबार मुम्बई र दिल्ली भिड्नेछन्। खेल दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा हुनेछ।
विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले एलिमेनेटर खेलको विजेतासँग खेल्नेछ।
एलिमिनेटर खेलमा तेस्रो स्थानको हैदराबाद र चौथो स्थानको बैंग्लोरबीच शुक्रबार शेख जायद स्टेडियम आबुधाबीमा खेल हुनेछ।
एलिमेनेटर खेलको विजेताले क्वालिफायरको पराजित टोलीसँग फाइनलमा स्थान बनाउन खेल्नेछ।
फाइनल खेल मंगलबार दुबईमा हुनेछ।
मुम्बई लगातार दोस्रो तथा समग्रमा पाँचौंपटक उपाधि जित्ने दाउमा छ। दिल्ली र बैंग्लोरलाइ पहिलो उपाधि जित्ने मौका छ। हैदराबाद दोस्रो उपाधि हात पार्न चाहन्छ।

प्रतिक्रिया