कप्तान विराट कोहलीले तुफानी ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि ८ विकेटको फराकिलो जित हात पारेको छ।
अबुधाबीमा शनिबार साँझ सम्पन्न खेलमा विराटले ५३ बलमा ७ चौका र दुई छक्कासहित ७२ रनको इनिङ्स खेलेपछि राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंग्लोरले १९.१ बलमा २ विकेटमात्रै गुमाएर भेट्टायो।
अघिल्लो तीन खेलमा जम्मा १८ रनमात्रै जोड्न सकेपछि कोहलीको आलोचना भइरहेको थियो।
तेस्रो ओभरमा नै आरोन फिन्चलाई ८ रनमा गुमाएको बैंग्लोरको पारी देवदत्त पाडिक्कल र कोहलीले सम्हालेका थिए।
पाडिक्कल १६ औं ओभरमा ६३ रन बनाएर आउट हुनुअघि कोहलीसँग उनले दोस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए। पाडिक्कलले ४५ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए।
यस्तै एबी डिभिलियर्सले १० बलमा एक चौकासहित १२ रन जोडे। राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले एक एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।
राजस्थानका महिपाल लोमररले ३९ बलमा १ चौका र ३ छक्कासहित ४७ रन बनाए। राहुल टेवाटियाले १२ बलमा ३ छक्कासहित २४, जेफ्रा आर्चरले १६ र जोस बट्लरले २२ रन थपे।
बैंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए। ४ ओभरमा उनले २४ रनमात्रै खर्चेका थिए यस्तै इसुरु उडानाले २ तथा नाभदिप सैनीले १ विकेट लिए।
जितसँगै बैंग्लोर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चार खेलमा तीन खेल जितेको बंग्लोरको ६ अंक छ।
चार खेलमा दुई हार र दुई जितको नतिजा निकालेको राजस्थान चार अंकसहित छैटौं स्थानमा छ।

प्रतिक्रिया