स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ।
जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले कीर्तिमानी छैटौं पटक लिगको उपाधि जितेको हो।
सेभियाका रक्षक डियगो कार्लोसले रामेलु लुकाकुलाई फउल गरेपछि इन्टर पाएको पेनाल्टीबाट रोमाञ्चक बनेको खेल लुकाकुले आत्मघाती गोल गरेसँगै सकिएको थियो।
यो जितसँगै ६ पटक नै फाइनल पुगेको सेभियाले ६ पटक नै उपाधि जित्यो। सेभियाको जितमा लुक डी योङले दुई गोल गरे भने लुकाकुले एक आत्मघाती गोल गरे। इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए।
पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाएका थिए। १२ औं मिनेटमा योङले बराबरी गोल फर्काए।
३३ औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए। त्यसको तीन मिनेट नबित्दै गोडीनले गोल गर्दै खेल २-२ को बराबरी ल्याए।
७४ औं मिनेटमा कार्लोसको बाइसाइकल किक लुकाकुलाई लाग्दै आत्मघाती गोलमा परिणत हुँदा सेभियाले ३-२ को जित हात पार्यो।
प्रतिक्रिया