खेल


नेपाललाई उपाधि जिताउने कप्तान अरुणा भन्छिन्: भलिबलबिनाको जीवन सोच्न सक्दिनँ

नेपाललाई उपाधि जिताउने कप्तान अरुणा भन्छिन्: भलिबलबिनाको जीवन सोच्न सक्दिनँ

लक्ष्मी जि.सी
जेठ ३०, २०७७ शुक्रबार ११:१५,

गत वर्ष महिला भलिबलमा नेपालले दुई महत्वपूर्ण प्रतियोगिता खेल्दै थियो। त्यसको ठीक अगाडि अरुणा शाहीलाई राष्ट्रिय टोलीको कप्तान बनाइएको थियो।

स्कुलस्तरमा कप्तानीको अनुभव लिएपनि क्लबको नेतृत्व नगरेकी अरुणाका लागि राष्ट्रिय टोलीको जिम्मेवारी अवसर त थियो नै, त्योसँगै चुनौती पनि थियो।

तत्कालीन कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङसहित केही सिनियर खेलाडी विना राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएको थियो। त्यसैले धेरैलाई शंका थियो, पहिलेजस्तै सफलता हात लाग्नेमा।

एकैपटक धेरै सिनियर खेलाडीलाई हटाएकोमा नेपाल भलिबल संघको पनि चर्को आलोचना भएको थियो। तर, अरुणा जिम्मेवारीमा खरो उत्रिइन्। गत वर्ष उनको कप्तानीमा महिला भलिबलमा नेपालले इतिहास रच्यो।

दुई महिनामा दुई वटा सफलता नेपाली टोलीले हात पार्‍यो। बंगलादेशमा कात्तिकमा एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेर फर्केको महिला टोलीले मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो।

‘सिनियर खेलाडीको बहिर्गमनले त्यसबेला मलाई पनि दुःखी बनाएको थियो। तर, पुराना खेलाडीहरु सधैँ टिममा रहने हो भने नयाँ खेलाडीले कहिले अवसर पाउने?’ बंगलादेशमा सेन्ट्रल जोनमा स्वर्ण जितेर फर्केपछि अरुणाले भनेकी थिइन्।

६ दशक लामो इतिहासमा भलिबलमा नेपालले यति ठूलो सफलता यसअघि प्राप्त गरेको थिएन। नेतृत्वकर्ताका हिसाबले अरुणाले पनि महिला भलिबलमा इतिहास बनाइसकेकी छिन्। ३६ वर्ष लामो साग इतिहासमा नेपालले पहिलो पटक रजत पदक अरुणाकै कप्तानीमा जितेको छ। यसअघि ३ पटक नेपालले महिला भलिबलमा कास्य पदक मात्र जितेको थियो।

पहिलो पटक सागको फाइनल खेलेको नेपालले भारतलाई कडा चुनौती दिएको थियो। भलिबलप्रेमीले नेपाल र भारतबीचको त्यो फाइनल खेल सधैँ सम्झिरहनेछन्। यद्यपि जितको नजिक पुगेर नेपाल उपविजेतामा खुम्चिएको थियो। सधैँ भारतसामु कमजोर देखिँदै आएको नेपालले पहिलो पटक उसलाई २ सेटमा हराएको थियो।

पश्चिमाञ्चलको माया
म्याग्दीको साबिक पिप्ले गाविसमा जन्मिएकी अरुणाले भलिबल खेलाडी हुन्छु भनेर कहिल्यै सोचिनन्, त्यसमा पनि कप्तानीको जिम्मेवारी उने कल्पना गर्ने कुरै भएन।

‘पहिला गाउँमा भाइहरुसँग यत्तिकै खेलिरहेको हुन्थे। तर खेलाडी हुन्छु भनेर होइन,’ उनले सम्झिइन्, ‘रघुगंगा स्कुलमा पढ्ने बेलामा भलिबल खेल्न थालेकी थिएँ। २०६४ सालमा पहिलो पटक मुक्तिधाम स्कुलबाट वीरेन्द्र सिल्ड प्रतियोगितामा सहभागी भएँ। त्यही अगाडि बढ्ने पहिलो खुड्किलो बन्यो।’

भलिबलमा उस्तो रुची थिएन। तर, राम्रो खेल्ने भएकैले पोखराको ज्ञानुबाबा स्कुलले उनलाई छात्रवृत्ति दिने प्रस्ताव गर्‍यो।

‘त्यो बेला ज्ञानुबाबा स्कुलका प्रशिक्षक तथा वर्तमान पश्चिमाञ्चलका प्रशिक्षकले मेरो खेल देखेर केही गर्न सक्छ भनेर होला, मलाई छात्रवृत्तिको प्रस्ताव गर्नुभएको थियो,’ अरुणा भन्छिन्, ‘मैले पनि त्यो अवसरलाई छाडिनँ।’

२०६४ सालमा ज्ञानुबाबा स्कुलमा भर्ना भएपछि उनको खेल जीवनले गति लिन थाल्यो। केही दिन परिवारबाट टाढा हुँदा उनले अप्ठेरो महसुस गरिन्। तर, खेलमा राम्रो प्रदर्शन गर्दै गएपछि उनका साथी बन्दै गए, खेलमा लगाव पनि बढ्दै गयो र भलिबलले नै उनलाई परिचय पनि दियो।

सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी अरुणालाई आफूले खेल जीवनको सुरुवात गरेको पश्चिमाञ्चल टोलीको धेरै माया लाग्ने सुनाउँछिन्।

‘महिला भलिबलमा एक समय पश्चिमाञ्चल टोलीको दबदबा थियो,’ उनी भन्छिन्, ‘तर, पछिल्लो समय पश्चिमाञ्चलमा प्रतियोगिता कम हुन थालेका छन्। प्रतियोगिताहरुमा पनि पश्चिमाञ्चलको टोली विरलै देख्न पाइन्छ।’

केही वर्षयता न्यु डायमन्ड क्लबबाट व्यावसायिक भलिबल खेल्दै आएकी अरुणा पश्चिमाञ्चलले कुनै प्रतियोगितामा भाग लिए त्यही टोलीबाट खेल्ने बताउँछिन्।

ArunaShahi 1राखेप कभर्डहल त्रिपुरेश्वरमा अभ्यास गर्दै खेलाडीहरू। (फाइल फाेटाे)

सफलता जोगाउने चुनौती
बगंलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपका लागि सुरुमा २५ खेलाडी छनोट हुँदा केही सिनियर खेलाडी परेनन्। त्यसैले कप्तानीको जिम्मेवारी उनले पाइन्।

‘टोलीमा रहेका सिनियर दिदीहरु नहुँदा अबको कप्तान तिमी नै हौ भन्दा पत्यार पनि लाग्थेन,’ उनी भन्छिन्, ‘किनकी मैले कप्तान हुन्छु भनेर कहिल्यै सोचेको थिइनँ।’

तर, सो प्रतियोगितामा नेपालले नसोचेको सफलता हात पार्‍यो। ५ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल एक सेट पनि नहारी च्याम्पियन बनेको थियो।

‘त्यो बेला खुसीको सीमा नै थिएन,’ उनले सम्झिइन, ‘तर, घरेलु मैदानमा हुने १३ औं साग हाम्रो अगाडि थियो। त्यसको चुनौती पनि सँगै थियो। सागमा पनि ऐतिहासिक रुपमा नै रजत पदक जितेपछि भने खुसीको सिमा नै रहेन। पदक जितेपछि अहिलेसम्मको सबै दुःख भुलेँ।’

ती ऐतिहासिक सफलताको प्रमुख श्रेय उनी टोलीका खेलाडीलाई दिन्छिन्।

‘मेहनती टोली पाउँदा र एकपछि अर्को पदक जित्दा आफूलाई भाग्यमानी पनि ठान्छु,’ उत्साहित हुँदै उनले थपिन्, ‘किनकी देशले पाएको दुवै पदकमा मैले कप्तानी गर्ने मौका पाएकी थिएँ, सम्झदा एक किसिमको आनन्द लाग्छ।’

अहिलेसम्म पाएको सफलतालाई जोगाउनु अबको चुनौती भएको उनको ठम्याइ छ।

‘अहिलेको सफलतालाई जोगाउने चुनौती एकातिर छ भने अर्कोतिर योभन्दा पनि ठूलो सफलताका लागि प्रयास गर्नुपर्नेछ,’ उनले भनिन्, ‘तसर्थ हामीले अझै बढी मेहनत गर्नुपर्ने हुन्छ।’

छैन भलिबलको विकल्प
ऐतिहासिक सफलताको नेतृत्व गरेकोले अरुणाको खेल जीवन सहज र सफल देख्न सकिन्छ। तर, उनको यहाँसम्मको यात्रा सहज थिएन। राष्ट्रिय टोलीमा पर्न कडा प्रतिस्पर्धा पार गर्नुपर्ने हुन्थ्यो। उनले त्यो सबै पार गरिन्।

खेल जीवनमा उनलाई एकाध घटना अविष्मरणीय लाग्छ।

‘श्रीलंकासँग आमन्त्रित एसियाली भलिबल खेल्दा दर्शकको उपस्थिति र उहाँहरुको साथलाई कहिल्यै भुल्न सक्दिनँ,’ उनी भन्छिन्, ‘१३ औं साग पनि अर्को अविष्मरणीय क्षण हो।’

भलिबल नेपालको राष्ट्रिय खेल भएपनि आवश्यक भौतिक पूर्वाधार नहुँदा भने दुःख लाग्ने गरेको अरुणा सुनाउँछिन्। १३ औं सागको बेलामा पनि भलिबल प्रशिक्षण गर्न राष्ट्रिय खेलकुद परिषदको बहुउदेश्यीय कभर्डहलको भर पर्नु परेको थियो। त्यहाँ आफ्नो पालो कुरेर प्रशिक्षण गर्नुपर्थ्यो।

‘राष्ट्रिय खेल भए पनि भलिबललाई सरकारले ध्यान नदिँदा उनलाई पनि नमज्जा लाग्छ,’ उनी भन्छिन्।

राष्ट्रिय टोलीमा हेर्ने हो भने विभागीय टोली (सेना, पुलिस र सशस्त्र) का खेलाडीको दबदबा छ। विभागीय टोलीका खेलाडीले नियमित प्रशिक्षण र पारिश्रमिक पाउँछन्। अरु खेलाडीले उनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो उनको अनुभव छ।

यतिबेला विभागबाहेकका खेलाडीहरुलाई आर्थिक रुपमा पनि समस्या परेको छ।

‘हामीसँग आम्दानीको नियमित स्रोत हुँदैन। यस्तोमा खेल्न र नियमित प्रशिक्षण गर्न गाह्रो हुन्छ। प्रतियोगिता नहुँदा आम्दानीको स्रोत नै बन्द हुन्छ,’ लकडाउनका कारण म्याग्दीमा रहेकी उनले नेपालखबरसँग भनिन्।

तर, जस्तै अभावका माझ पनि जीवनमा आफूले भलिबलको विकल्प सोच्न नसक्ने अरुणा बताउँछिन्।

‘भलिबलले नै मलाई यहाँसम्म ल्यायो, त्यसैले आगामी दिनमा पनि भलिबलमै रहन्छु,’ उनले योजना सुनाइन्, ‘जहिलेसम्म सक्छु, खेल्छु। त्यसपछि भने प्रशिक्षणतर्फ लाग्ने योजना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad