इंग्लिस प्रिमियर लिग (ईपीएल)का सबै क्लबले ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्ने पक्षमा मतदान गरेका छन्।
बुधबार गरिएको मतदानमा सहभागी सबै २० क्लबले कन्ट्याक्ट प्रशिक्षण गर्ने पक्षमा मत दिएसँगै आगामी जुनबाट लिग पुनः सुरु हुने सम्भावना बलियो भएको छ।
क्लबले यसअघि नै सानो–सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण सुरु गरिसकेका थिए। तर अब क्लबले समूहमा ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न सक्नेछन्।
यसैबीच प्रिमियर लिगका ३ क्लबका थप ४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। प्रिमियर लिगले तेस्रो चरणमा १ हजार ८ जनाको परीक्षण गरेको थियो। हालसम्म २ हजार ७ सय ५२ जनामा गरिएको परीक्षणमा १२ जनामा कोरोना सक्रमण देखिएको हो।
संक्रमितलाई आइसोलेसनमा राखेपछि हप्तामा २ पटक कोरोना परीक्षण गर्ने गरिएको छ। कोरोना संक्रमण फैलिएपछि गत मार्च १३ देखि लिग स्थगित छ।

प्रतिक्रिया