दक्षिण एसियाली पावर हाउस भारतसँग भिड्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले घरेलु मैदानमा हुने काभा महिला भलिबल च्याम्पियसिपको सुरुवात गर्दै छ।
एकै समूहमा रहेका नेपाल र भारत पहिलो खेलमा नै भिड्न लागेका हुन्। नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा हुनेछ। खेल शुक्रबार दिउँसो साढे ३ बजे सुरु हुनेछ।
दिनको पहिलो खेलमा समूह ‘बी’का इरान र बंगलादेश भिड्नेछन्। सो खेल बिहान ११ बजे सुरु हुनेछ। पहिलो खेलपछि २ बजेबाट औपचारिक उद्घाटन सत्र सुरु हुनेछ।
उद्घाटन सत्रपछि नेपाल र भारतबीचको खेल हुनेछ। यो खेल दिउँसो साढे ३ बजे सुरु हुने तालिका छ। यो पटक काभामा सहभागी हुने नेपाली र भारतीय दुवै टोली अनुभवी र युवा खेलाडीले मिश्रित छ।

यो पटक काभामा सहभागी हुने नेपाली टोलीमा ठूलो परिवर्तन आएको छ। यसअघि महिला टोलीमा रहेका आधा खेलाडीले अध्ययन र रोजगारीका लागि अष्टे«लियालाई गन्तव्य बनाइसकेका छन्।
नेपाली टोलीका कप्तानसहित अनुभवी खेलाडी सरस्वती चौधरी, साफिया पुन, प्रतिभा माली, पुनम चन्द, कविता भट्ट अष्टे«लिया पुगेका छन्।
उनीहरुले विदेशलाई गन्तव्य बनाएपछि मिना सुनार, सलिना बुढामगर, बसन्ती साउद, सुनिता खत्री, एलिशा मानन्धर, जसना महतोले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
एकैसाथ ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा रिमा कुवँरले टोलीमा पुनरागमन गरेकी छिन्। कप्तान निरुता ठगुन्नासहित उषा भण्डारी, कामना विष्ट, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, प्रगती नाथ र शान्तीकला तामाङसँग अन्तराष्ट्रिय खेलको अनुभव छ। यी सबै खेलाडीले २०१९ देखि टोलीमा डेब्यु गरेका हुन्।
युवा खेलाडीले भरिएको नेपाली टोली भारतविरुद्ध नयाँ इतिहास लेखाउन आतुर छ।
सन् २०१९ मा घरेलु मैदानमा भएको दक्षिण एसियाली खेलकुद (साग) र काभा च्याम्पियनसिप र चीनमा भएको एसियन गेम्समा पनि नेपाल भारतसँग पराजित भएको थियो।
तर २०८१ मा घरेलु मैदानमा भएको काभा महिला भलिबल नेसन्स लिगको लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो। त्यो नै भारतमाथि नेपालको पहिलो ऐतिहासिक जित थियो तर फाइनलमा भने नेपाल ३–२ को सेटमा नै पराजित हुन पुग्यो।
यो पटक नेपाल र भारत फेरि एकपटक सुरुवातमा नै आमनेसामने हुँदैछन्। यो पटक भारतीय टोली नेपालमाथिको आफ्नो दबदबा कायम राख्न चाहन्छन्। नेपाल भने दक्षिण एसियाली पावरहाउस भारतलाई रोक्दै सुखद सुरुवातको योजनामा छन्।
युवा र नयाँ खेलाडी भएका कारण अनुभवको कमी र पर्याप्त अन्तराष्ट्रिय एक्पोजरको अभाव महिला टोलीमा देखिन सक्छ। पहिलो सेटमा नै भारतलाई दबाबमा राख्न सके महिला टोली सन्तुलित बन्न सक्नेछ। यस्तोमा खेलाडीको अनुभवको कमी नेपाली टोलीको कमजोरीका रुपमा देखा पर्नेछ।
खेलाडी छनोटदेखि अनुभवी खेलाडीको विदेश पलायनले केही सातायता थप चर्चा पाएको छ। यस्तोमा नयाँ उत्साह र ऊर्जाले भरिएको वर्तमान युवा टोलीले त्यसको जवाफ कोर्टबाट फर्काउनु आवश्यक छ।

के भन्छन् कप्तानहरू?
भारतीय टोलीकी कप्तान नन्दना वलप्पिलले छोटो समयको तयारीमा आएको बताइन्।
खेलअघिको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘तयारी छोटो भए पनि राम्रो प्रदर्शन गर्नेछौँ। यसपालि हामीसँग नयाँ प्रशिक्षक पनि हुनुहुन्छ। त्यसकारण हरसम्भव जितका लागि प्रयास गर्नेछौँ।’
नेपालसँग उसकै घरमा खेल्दा दबाब महशुस हुने भए पनि राम्रो खेल्ने उनको भनाइ छ।
यता नेपालकी कप्तान निरुता ठगुन्नाले पनि आफ्नो टोलीले राम्रो तयारी गरेको बताइन्।
‘टोलीमा नयाँ र पुराना खेलाडी छौँ। तयारी पनि राम्रो छ। होमकोर्टमा खेल्दा घरेलु दर्शकको भरपूर साथ हुनेछ। दर्शकको ९० प्रतिशत साथ र बाँकी कोर्टमा १० प्रतिशत राम्रो गर्नेछौँ’, उनले भनिन्।
उनले तीन जना प्रशिक्षक हुँदा राम्रो तयारी भएको बताइन्। भारतसँगको खेलमा कुनै दबाब नहुने उनको भनाइ छ।
Shares

प्रतिक्रिया