खेल


महिला खेलाडीलाई खेलकुदमन्त्रीले भने- साफ च्याम्पियन बनेर फर्किनूस्, विमानस्थलमा स्वागत गर्न आउँछु

महिला खेलाडीलाई खेलकुदमन्त्रीले भने- साफ च्याम्पियन बनेर फर्किनूस्, विमानस्थलमा स्वागत गर्न आउँछु

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १६:६, काठमाडौँ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

बिहीबार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन्।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए।

मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गरे। टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उल्लेख गरे।

राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्दै उपलब्ध सिमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने बताए।

टोलीमा अनुभवी र नयाँ खेलाडीहरूको सन्तुलित समिश्रण रहेकोप्रति खुशी व्यक्त गर्दै मन्त्री पोखरेलले वरिष्ठ खेलाडीहरूलाई अनुजहरूलाई मार्गनिर्देशन गर्न र नयाँ खेलाडीहरूलाई अग्रजबाट सिक्न आग्रह गरे।

उक्त अवसरमा मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाडीहरूको योगदानको स्मरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे। आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री पोखरेलले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह गरे। 

मन्त्री पोखरेलले भने, ‘यस पटक हामी उपाधि जितेरै आउँछौँ भन्नेमा म पूर्ण विश्वस्त छु। मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोस्, जीत अवश्य सम्भव छ। तपाईँहरू च्याम्पियन बनेर फर्किएपछि विमानस्थलमा स्वागत गर्न म स्वयं उपस्थित हुने प्रतिज्ञा गर्दछु।’

बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रतिनिधि र खेलाडीहरूको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad