मार्क वाटको अर्धशतक सहयोगमा स्कटल्यान्डले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा अमेरिकासामु जितका लागि १७० रनको सामान्य लक्ष्य दिएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ४३.३ ओभरमा १६९ रन बनाउँदा अलआउट भयो।
स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ८५ बलमा ४ चौका र ३ छक्का सहयोगमा ६६ रन बनाउँदा रुसिल उगाकारको बलमा क्याच आउट हुन पुगे।
ब्रान्डोन म्याक मुलेनले ३२ रन बनाउँदा शुभम रन्जानेको बलमा एलबीडब्लूको धरापमा परे। ओपनर जर्ज मुन्सेले १९ रन बनाउँदा सौरभ नेत्रवाल्करको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। अन्य सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
स्कटल्यान्डलाई कम स्कोरमा रोक्न रुसिल उगाकारले चार विकेट लिए। सौरभ नेत्रवाल्करले तीन र शुभम रन्जानेले दुई विकेट लिए। हरमित सिंहले एक विकेट लिए।
अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा स्कटल्यान्डले अन्तिम खेल खेलिरहेको हो।
Shares

प्रतिक्रिया