खेल


विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा: विनोद तीन वर्षपछि फर्किए, अर्जुनलाई पनि मौका

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा: विनोद तीन वर्षपछि फर्किए, अर्जुनलाई पनि मौका

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १३:३, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोली घोषणा भएको छ। यूएई र ओमनविरूद्धको सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो। 

टोलीमा केही नयाँ खेलाडीले मौका पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कपको प्रदर्शनलाई हेरेर टोली तयार गरेको छ। 

युवा ब्याटर अर्जुन कुमालले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन्। उनले प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरेका थिए।

यस्तै नेपाल प्रिमियर लिग र प्रधानमन्त्री कप लगायत घरेलु प्रतियोगितामा पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका ओपनर तथा विकेटकिपर विनोद भण्डारी पनि टोलीमा समेटिएका छन्। भण्डारी तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन्। अरु खेलाडी भने यसअघिकै नियमित टोलीका छन्। 

नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज खेल्दै छ। नेपाल, ओमान र यूएईबीच तथा नेपाल, अमेरिका र स्कटल्यान्डबीच छुट्टा छुट्टै सिरिज हुन लागेको हो। दुवै सिरिज नेपालमा हुनेछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख १२ देखि २२ गतेसम्म पहिलो सिरिज नेपाल, ओमान र यूएईबीच हुनेछ। वैशाख २९ देखि जेठ ८ गतेसम्म नेपाल, स्कटल्यान्ड र अमेरिकाको अर्को सिरिज हुनेछ। 

अमेरिका लिग-२ को अंक तालिकाको शीर्ष स्थानमा र स्कटल्यान्ड दोस्रो स्थानमा छ। अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालको २० खेलमा १२ अंक छ। 

नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी।

रिजर्भ खेलाडी: हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad