खेल


जसले चिर्‍यो पीएम कपमा एक दशकदेखिको विभागीय टोलीको दबदबा

जसले चिर्‍यो पीएम कपमा एक दशकदेखिको विभागीय टोलीको दबदबा

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कपको फाइनलमा पुग्ने पहिलो प्रादेशिक टोली बनेको छ। तस्बिर : क्यान


लक्ष्मी जि.सी
बैशाख १, २०८३ मंगलबार १६:४४, काठमाडौँ

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो प्रादेशिक टोली बनेको छ।

पीएम कपको एक दशकको इतिहासमा अहिलेसम्म कुनै पनि क्षेत्रीय तथा प्रदेशको टोली फाइनलमा पुग्न नसकेकामा पहिलोपटक सुदूरपश्चिम पुग्न सफल भएको हो।

विभागीय टोलीबीच तीव्र प्रतिस्पर्धा हुँदै आएको पीएम कपमा पहिलो पटक प्रदेशको टोली उपाधिनजिक पुगेको छ। योसँगै पीएम कपमा विभागीय दबदबा तोडिएको छ।

सुदूरपश्चिमले पीएम कपमा आफ्ने सबै ९ खेल खेलिसकेको छ। ९ खेलमा उसले ६ खेलमा जित र ३ खेलमा हार भोग्यो। ९ खेलबाट १२ अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो।

सुदूरपश्चिमभन्दा एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ। मधेश प्रदेश सोमबार एपीएफ क्लबसँग ७४ रनले पराजित भएपछि सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो। 

सुदूरपश्चिमले अब फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ। जारी पीएम कपमा आर्मी एक मात्र अपराजित टोली हो। फाइनलमा लिग चरणमा आर्मीसँग भोगेको हारको बदला लिने मौका सुदूरपश्चिमसँग छ। 

यस्तो रह्यो फाइनल यात्रा
जारी पीएम कपमा सुदूरपश्चिमको प्रदर्शन उच्च रह्यो। सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई पराजित गर्दा २ विभागीय टोलीसँग भने हार भोग्यो। 

फायनलमा स्थान बनाउँदासम्म सुदूरपश्चिमका हेमन्त धामी पीएम कपमा सर्वाधिक विकेट टेकरको शीर्ष स्थानमा छन्। उनले ९ खेलमा ९ मेडन राख्दै २ सय ५० रन दिदै २५ विकेट लिएका छन्। 

२२ विकेट लिएका शेर मल्ल दोस्रो स्थानमा छन्। शेरले ९ खेलमा ७ मेडन राख्दै ३ सय ३० रन दिदा २२ विकेट आफ्नो नाममा गरेका छन्। 

त्यस्तै अशोक धामीले ९, खडक बोहोरा, नारायण जोशीले समान ४ तथा मिलन बोहोराले ३ विकेट लिएका छन्। किरण ठगुन्ना, विकास अग्रीले समान २ विकेट आफ्नो नाममा गरेका छन्। नरेन भट्ट, लोकेन्द्र चन्द र सौर्य श्रेष्ठले समान एक विकेट लिएका छन्।

ब्याटिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले मात्र ३ सय रनको आँकडा पार गरेका छन्। उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीको पाचौँ स्थानमा छन्। उनले ९ खेलको ८ इनिङमा ३ सय ३ रन बनाएका छन्। उनको सर्वाधिक रन ८२ हो। यसमा उनले तीन अर्धशतक पूरा गर्दा १४ चौका र २३ छक्का प्रहार गरेका छन्। 

अविशेक पलले ९ खेलमा २ सय ४७ रन बनाएका छन्। खडक बोहोराले १ सय ६१, दीपक बोहोराले १ सय ३७, किरण ठगुन्नाले १ सय २१, अशोक धामीले १ सय १९ रन बनाएका छन्। 

४ खेलमा लगातार जित
सुदूरपश्चिमले पहिलो खेलमा कर्णाली प्रदेशलाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा मधेश प्रदेशसँग ५ विकेटले पराजित हुँदा त्यसपछिका चार खेलमा लगातार जित हात पार्यो। 

तेस्रो खेलमा कोशी प्रदेशलाई ७ विकेटले तथा चौथो खेलमा लुम्बिनी प्रदेशलाई १२ रनले पाखा लगायो। गण्डकी प्रदेशलाई २ विकेटले हराउँदा बागमती प्रदेशमाथि भने १ सय ६३ रनको फराकिलो जित निकाल्यो। 

एपीएफसँग ४५ तथा आर्मीसँग ७ विकेटको हार व्यहोर्न पुग्यो। अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ५६ रनले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad