आज नयाँ वर्ष विक्रम संवत् २०८३ सुरु भएको छ। नयाँ वर्षको सुरुवातसँगै बिदा भएको २०८२ साललाई खेलकुद क्षेत्रले बिर्सने छैन। २०८२ नेपाली खेलकुदलाई मिश्रित अनुभव दिएर गएको छ।
केही खेलले उल्लेखनीय उपलब्धि हासिल गरे। केही खेल भने संकट र अन्योलको अवस्थामा पुगे। वर्षको अन्त्यसम्म आइपुग्दा नेपाली क्रिकेटले समर्थकलाई खुसी दियो भने फुटबलको भविष्य भने गम्भीर चुनौतीमा देखियो।
गत भदौमा भएको जेनजी आन्दोलनका कारण घरेलु मैदानमा आयोजना हुने भनिएको भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगन हुन पुग्यो। समग्र रूपमा वर्ष २०८२ नेपाली खेलकुदका लागि उतारचढावपूर्ण रह्यो।
व्यक्तिगत खेलतर्फ भने केही खेलाडीले उल्लेखनीय सफलता हासिल गर्दै देशलाई गौरवान्वित बनाए। करातेकी स्टार एरिका गुरुङ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का फाइटर रवीन्द्र ढाँट यस वर्ष चर्चामा रहे।
रवीन्द्रले साउनमा भारतमा सम्पन्न ‘म्याट्रिक्स फाइट नाइट-१७’ मा भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भए। यससँगै उनले अन्तर्राष्ट्रिय एमएमएमा उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचे।
वर्षको अन्त्यतिर कराते स्टार एरिकाले पनि उल्लेखनीय सफलता हात पारिन्। ३ वर्षअघि १९औँ एसियाली खेलकुदमा रजत पदक जितेर सफलताको यात्रा सुरु गरेकी एरिकाले चैतको अन्त्यतिर चीनको लेसानमा भएको कराते वान प्रिमियर लिग-२०२६ मा उनले महिला ६८ केजी माथिको तौल समूहमा रजत पदक जित्दै नेपाली खेलकुदलाई खुसी दिइन्।
फाइनलमा कजाकस्तानकी सोफिया बेर्लुत्सेभासँग २–१ ले पराजित भएपछि रजतमै सीमित भए पनि उनको प्रदर्शन प्रशंसनीय रह्यो।
एथलेटिक्सतर्फ ‘गोल्डेन गर्ल’ सन्तोषी श्रेष्ठका लागि पनि २०८२ उत्कृष्ट रह्यो। विभिन्न दुरीका दौडमा कीर्तिमान कायम गरिसकेकी सन्तोषीले २०८२ मा मात्र ६ राष्ट्रिय कीर्तिमान बनाउँदै आफ्नो वर्चस्व कायम राखिन्।
क्रिकेटले दिलाएको खुसी

नेपाली क्रिकेट समर्थकका लागि वर्ष २०८२ विशेष रह्यो। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले तेस्रोपटक तथा लगातार दोस्रोपटक आईसीसी टी-२० विश्वकप खेल्न सफल रह्यो।
ओमानसँग अपराजित रहँदै च्याम्पियन बनेको नेपाल टी-२० विश्वकपका लागि छनोट भएको थियो। नेपालले जितेको त्यो पहिलो आईसीसी ट्रफी हो।
पछि भारत र श्रीलंकामा सम्पन्न प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराउँदै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गर्यो।
नेपालले यसअघि सन् २०१४ को विश्वकपमा हङकङलाई ८० रन र अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसपछि लामो समय विश्वकप जितविहीन रहेको नेपालले स्कटल्यान्डलाई जित्दै समर्थकलाई खुसी दियो।
समूह चरणका पहिलो तीन खेलमा पराजय भोगे पनि अन्तिम खेलमा जित निकाल्दै नेपालले विश्वकप यात्राको सुखद अन्त्य गरेको थियो।
यस विश्वकपमा नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी प्रदर्शन गरे। उनले स्कटल्यान्ड र वेस्ट इन्डिजविरुद्ध लगातार अर्धशतक प्रहार गरे। तीन विश्वकप खेल्ने नेपालका खेलाडीमध्ये अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बने।
त्यस्तै तीव्र गतिका बलर सोमपाल कामी नेपालले खेलेका तीनवटै विश्वकपमा सहभागी हुने पहिलो र एक मात्र खेलाडी बने। इंग्ल्यान्ड र इटालीविरुद्धको खेलमा बेन्चमा रहे पनि पछिल्ला दुई खेलमा अवसर पाएसँगै उनले यो उपलब्धि हासिल गरे।
विश्वकपअघि नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने अवसर पायो। विश्व तयारीका रूपमा लिएको उक्त सिरिज नेपालले आफ्नो पक्षमा पार्दै आत्मविश्वास बढाएको थियो।
यद्यपि टी-२० अन्तर्राष्ट्रियमा राम्रो प्रदर्शन गरेको नेपालले एकदिवसीय क्रिकेटमा भने अपेक्षित सफलता हासिल गर्न सकेन।
महिला क्रिकेटतर्फ पनि केही सकारात्मक उपलब्धि देखिए। नेपालको दृष्टिविहीन महिला क्रिकेट टोलीले विश्वकपको फाइनल पुग्दै इतिहास रच्यो।
त्यस्तै नेपाली महिला टोलीले पहिलोपटक टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनायो। तर घरेलु मैदानमा भएको उक्त छनोटमा नेपाल अन्तिम चरण पार गर्न असफल रह्यो।
यसै वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले पनि नयाँ इतिहास बनायो।
पहिलोपटक फ्लडलाइटमा नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरियो। यसअघि घाँसे मैदानमा बसेर क्रिकेट हेर्ने समर्थकले प्यारापिटमा बसेर फ्लडलाइटको उज्यालोमा खेल हेर्ने नयाँ अनुभव पाए।
फुटबलमा संकट र अन्योल

क्रिकेटले उत्साह जगाएको वर्ष २०८२ मा नेपाली फुटबल भने विवाद र संकटमा देखियो। यो अवस्था मैदानभित्रको प्रदर्शनका कारण नभई प्रशासनिक विवाद र व्यवस्थापन समस्याका कारण देखिएको हो।
अहिले नेपाली फुटबल गम्भीर संकटमा छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतिबेला अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउँछ भन्ने चिन्ता बढेको छ। यसको प्रत्यक्ष असर खेलाडी र प्रतियोगितामा देखिन थालेको छ।
गत चैत ११ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि विवाद झनै चर्किएको छ। यसले फिफाबाट पनि निलम्बनको खतरा बढाएको छ।
फुटबलको अस्थिरताकै कारण नेपाली राष्ट्रिय महिला टोलीले फिफा सिरिज खेल्ने अवसर गुमायो। आगामी साफ च्याम्पियनसिप खेल्न पाउने हो वा होइन भन्ने पनि अन्योलमै छ।
यसै वर्ष महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले बीचमै पद छाडे। उज्बेकिस्तान भ्रमणका क्रममा टोलीका व्यवस्थापकसँग विवाद भएपछि उनी नेपाल फर्किएनन्।
महिला टोलीको कप्तानी परिवर्तन पनि विवादको विषय बन्यो। मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तानको जिम्मेवारी दिइएपछि चर्चा र आलोचना दुवै भयो। अस्ट्रेलियामा व्यवसायिक फुटबल खेल्दा साम्बा घाइते भइन्। यसअघि त्यसरी चोटग्रस्त हुँदा तत्कालीन नेतृत्वले कतारमा उपचार व्यवस्था मिलाएको थियो।
यसपटक त्यस्तो भएन। उनको उपचार व्यवस्थापनप्रति देखिएको लापरबाहीका कारण पनि एन्फा आलोचनाको केन्द्रमा रह्यो। साम्बाले उपचारका लागि समर्थकसँग गुहार लगाइन्।
एकै दिनमा देश-विदेशबाट झन्डै डेढ करोड रुपैयाँ संकलन भएपछि उनले सहयोग रोक्न अपिलसमेत गरिन्। न्युजिल्यान्डमा घुँडाको शल्यक्रिया गरेर थप फिजियोको लागि साम्बा कतार जाने योजनामा छिन्।
फुटबलमा एक समय दक्षिण एसियामा बलियो मानिने नेपालको उमेर समूह टोलीको प्रदर्शन पनि सन्तोषजनक रहन सकेन।
एन्फा नेतृत्व बहुमतको आडमा एकपक्षीय रूपमा अघि बढेको आरोप लाग्दै खेलाडी संघ र क्लबहरू विरोधमा उत्रिन बाध्य भए। यस वर्ष घरेलु मैदानमा आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन सकेन।
दशरथ रंगशाला खेल्न अयोग्य भएपछि राष्ट्रिय पुरुष टोलीले आफ्नो घरेलु खेलहरू पनि विपक्षी मैदानमा खेल्नुपर्यो। पुरुष टोलीका अस्ट्रेलियन मुख्य प्रशिक्षकले पनि बीचमै जिम्मेवारी छाडे।
यति मात्र होइन, अघिल्ला वर्षहरूमा जस्तै २०८२ मा पनि पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न एन्फा असफल रह्यो।
राष्ट्रिय लिग र सहिद स्मारक एन्फा महिला लिग पनि बीचमै स्थगित भए। श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाइएको भन्दै अध्यागमन विभागले एन्फालाई पत्र पठाएपछि लिग प्रतियोगिता रोक्न एन्फा बाध्य भयो।
एन्फाविरुद्ध अदालतमा दर्जनौँ मुद्दा परे। अधिकांश फैसला एन्फाको विरुद्धमा भएका छन्।
समग्रमा वर्ष २०८२ नेपाली खेलकुदका लागि उपलब्धि र चुनौती दुवैको मिश्रण बन्यो।
केही खेलले अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाए भने केही खेल भने व्यवस्थापन संकटका कारण अन्योलमा परे।
अब वर्ष २०८३ मा नेपाली खेलकुदले स्थायित्व, सुशासन र थप उपलब्धि हासिल गर्ने अपेक्षा गरिए पनि पूर्ण रूपमा आश्वस्त हुने अवस्था भने छैन।
Shares

प्रतिक्रिया