खेल


सन्दीपले सात विकेट लिएपछि बागमतीको सहज जित

सन्दीपले सात विकेट लिएपछि बागमतीको सहज जित

नेपालखबर
चैत १८, २०८२ बुधबार १८:१४, काठमाडौँ

कप्तान सन्दीप लामिछानेले सात विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। 

बुधबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनले हराउँदै पीएम कपमा दोस्रो जित हात पारेको हो। कर्णालीले भने प्रतियोगितामा तेस्रो हार बेहोरेको छ। 

दुई खेलमा जित र तीन खेलमा हार भोगेको बागमती प्रदेश ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। एक खेलमा जित, तीन खेलमा हार र एक खेलमा अंक बाँडेको कर्णाली प्रदेश ३ अंकसहित आठौँ स्थानमा छ। 

बुधबार बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २५.१ ओभरमा १२० रन बनाउँदा अलआउट भयो। कर्णालीका निश्चल रावलले ३१, दिनेश अधिकारीले २२ रन बनाए। 

विपिन शाहीले १५, सुनिल धमालाले १४ र कप्तान दिवान पुनले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कर्णालीलाई कम स्कोरमा रोक्न बागमतीका कप्तान सन्दीप लामिछानेले सात विकेट लिए। उनले ९.१ ओभरमा एक मेडन राख्दै ४० रन खर्चिए। 

रिजन ढकाल, प्रतिश जीसी र सुवास खत्रीले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमती प्रदेश ३८.४ ओभरमा १८० रन बनाउँदा अलआउट भयो। 

बागमतीका लागि विवेक मगरले सर्वाधिक ५६ रनको योगदान दिए। इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कंसाकारले २० र शिवम तिवारीले १८ रन गपे। तल्लो क्रमका ब्याटरहरू लामो समय क्रिजमा टिक्न नसक्दा दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कर्णालीका दिवान पुनले ३ विकेट लिए। प्रकाश जैसी, दिपेन्द्र रावत र निश्चल रावलले समान २ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad