नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गग्लीएल्मो एरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रने बताएका छन्।
एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार हुने खेलअघि पत्रकारसँग कुराकानी गर्दै प्रशिक्षक एरेनाले भने, ‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौँ। मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो।’
उनले पहिलो पटक पाँच युवा खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरेको उल्लेख गरे। लाओस राम्रो टोली रहेको बताउँदै उनले भने, ‘हामी भोलिको खेलका लागि तयार छौँ। जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौ।’
एरेनाले अनुभवी फरवार्ड अञ्जन विष्टलाई बाहिर राख्दै टोली बनाएका छन्। युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा समेटिएको छ।
खेलअघि कप्तान किरण चेम्जोङले जित निकाल्नु नै मुख्य उद्देश्य रहेको बताएका छन्। उनले भने, ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुनेछ। राम्रो तयारी भएको छ। हामी कोचको रणनीतिअनुसार नै प्रदर्शन गर्नेछौँ।’

नेपाल र लाओसबीचको खेल स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। एसियन कपको दौडबाट बाहिरिसकेका दुवै टोली समूह ‘एफ’मा रहेका छन्।
नेपाल र लाओस दुवै टोलीले पाँच खेलबाट ३ अंक बटुलेका छन्। अघिल्लो भेटमा नेपाल लाओससँग २–१ गोल अन्तरले पराजित भएको थियो।
एसियन कप छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल दशरथ रगंशाला खेल्न योग्य नभएपछि लाओसमा खेल्न लागेको हो।
Shares

प्रतिक्रिया