अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले एन्फाले चलाएको एक महिला र तीन पुरुषहरुको एकेडेमीको जिम्मा कसले लिने हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यता पनि ध्यान दिनुपर्ने बताएका छन्।
उनले भने, ‘घरेलु प्रतियोगिताहरु रोकिएका छन्, राखेपले निलम्बन गरेकाले फुटबल कसरी लानुहुन्छ, जिम्मा यहाँहरुलाई नै भएको जानकारी गराउँछु।’
अब केही दिनमा लाओस जाने टोलीलाई स्वीकृति नआएको बताउँदै उनले स्वीकृतिविना उडायोे भने मानव तस्करीको आरोप लाग्नसक्ने बताए।
साफ महिला च्याम्पियनसिप पनि आउँदै गरेकाले यो सबैको जिम्मेवारी राखेपले लिनुपर्ने उनको भनाइ छ।
राईले भने, ‘पंकज विक्रम नेम्वाङको नेतृत्वमा भएको भेलामा २ तिहाइभन्दा बढी भेला भएको हो। केही साथीहरुले भाडामा मान्छे राखेर टिकटक बनाउन लगाएर, फेक आइडी बनाएर आउनुभएको छ। किन यस्तो गर्नुभएको?’
उनले आफूहरुको कारण लिग नभएको नभई क्लबहरुको कारण नै भएको बताए। उनले आफूहरुको कार्यकालमा आर्थिक रुपमा सुधार गरेको पनि दाबी गरे।
‘नेपाल सरकारको फन्ड जिरो, मुख्य फिफा र एएफसीको फन्ड आउने हो। पहिलो कन्ट्रोल फन्डिङमा थियो। तीन वर्ष लगाएर खुल्ला गर्यौँ, यसमा भ्रष्टाचार कहाँ भएको छ’, उनले भने, ‘राखेपमार्फत नेपाली फुटबलमा जुन हस्तक्षेप भयो, त्यसको पृष्ठभूमिका अन्य साथीहरुको हात छ। भोटर र नन भोटरहरुले बुझ्नुभएको छ। निर्वाचन स्थगित हुँदा साथीहरु निराश नहुनुहोस्, हस्तक्षेप चाहिन्छ भन्नेहरुले हिजो पत्रकार सम्मेलन गर्नुभयो, हस्तक्षेत्र हुन हुन्न भन्ने दुई तिहाइ यहाँ हुनुहुन्छ। निरास नहुनुहोस्, जहिले हुन्छ यही कुरा स्थापित हुन्छ, हाम्रो लाइन नै स्थापित हुन्छ।’
अब यो विषय फिफा, एएफसी र सरकारको सैद्धान्तिक छलफलको विषय बनेको उनको भनाइ छ। सीईओ, फिफा र राखेपको विधानमा केही लाइनहरु रहेकाले यसमा स्पष्ट हुनु जरुरी रहेको उनले बताए। सोही कारण फुटबलमा विवादहरु आएको उनको तर्क छ।
‘फिफा र एएफसीको सल्लाहअनुसार नै चुनाव स्थगित भएको हो। उहाँहरुले तिमीहरुले भनेको बुझेनौ होला, हामी बुझाउँछौँ भनेका छन्। खेलकुद ऐन र फिफा र एफसीले समन्वय गरेर अघि बढ्नु जरुरी छ’, उनले थपे।
Shares

प्रतिक्रिया