थ्री स्टार क्लबलाई सहभागी गराएर मात्रै सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गर्न उच्च अदालत, पाटनले आदेश दिएको छ।
शुक्रबार उच्च अदालत, पाटनका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले थ्री स्टारलाई सहभागी गराएर लिग सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो। उच्च अदालतको आदेशमा भनिएको छ, ‘थ्री स्टार क्लबका सम्बन्धमा यस अदालतको २०८२ फागुन १३ गतेको उत्प्रेषण परमादेशको आदेश बमोजिमको निर्णय गरेर मात्रै सहिद स्मारक ए डिभिजन लिग प्रतियोगिता सञ्चालन गर्नका लागि विपक्षी नं. २, ३, ४ र ५ का नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ।’
यसअघि फागुन १३ मा उच्च अदालत, पाटनकै न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र कृष्णमुरारी शिवाकोटीको संयुक्त इजलासले थ्री स्टारको पक्षमा आदेश दिएको थियो। यो आदेशसँगै थ्री स्टारलाई ‘ए’ डिभिजन लिग खेल्ने बाटो खुलेको हो। तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त आदेश कार्यान्वयन नगरी लिग सञ्चालन गर्ने तयारी गरेको थियो।
त्यसका विरुद्ध थ्री स्टार पुनः अदालत पुगेको थियो। क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले रिट दायर गरेका थिए। त्यसमा एन्फा लगायतलाई विपक्षी बनाइएको थियो।
एन्फाले चैत ३० गतेबाट थ्री स्टार बाहेकका १३ वटा क्लबलाई समावेश गरेर लिग सञ्चालन गर्ने निर्णय गरेको छ। यो निर्णय अनुसार अन्य क्लबलाई पत्राचार भए पनि थ्री स्टारलाई भने पत्र पठाइएको थिएन। थ्री स्टारलाई भने यसअघि ‘बी’ डिभिजन क्लबको हैसियतमै निर्वाचनका लागि पत्र पठाइएको थियो।
Shares

प्रतिक्रिया