अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई नखेलाउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेपछि राष्ट्रिय लिगका खेलहरु अनिश्चित समयका लागि स्थगित भएका छन्।
एन्फाले बिहीबार राष्ट्रिय लिगमा सहभागी क्लबहरुलाई पत्र लेख्दै प्राविधिक कारणले खेलहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको बताएको हो।
प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको हस्ताक्षरमा जारी गरिएको पत्रमा म्याच नम्बर ९७ र १ सय देखि १ सय ३६ सम्मका खेलहरु स्थगित गरिएको उल्लेख छ।
राष्ट्रिय लिगमा ३६ खेलहरु बाँकी छन्।
विभागका निर्देशक टीकाराम ढकालले पठाएको पत्रमा पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई खेल खेलाएको उजुरी आएको उल्लेख गरेको छ।
‘त्यस संघबाट सञ्चालन भएको राष्ट्रिय महिलारपुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ,’ पत्रमा भनिएको छ।
अध्यागमन नियमावली अनुसार, पर्यटक भिसामा आएका व्यक्तिले अन्य काम गर्न नपाउने व्यवस्था रहेको विभागले सचेत गराएको छ। पत्रमा भनिएको छ, ‘अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था रहेको व्यहोरा विदितै छ।’
कानुनविपरीत कुनै पनि विदेशी खेलाडीलाई खेलमा सहभागी नगराउन र श्रम स्वीकृति लिएर मात्रै खेल खेलाउने विभागले आग्रह गरेको छ। ‘कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ’, पत्रमा भनिएको छ।
यससँगै विभागले अनुगमन पनि सुरु गरेको जनाएको छ। ‘सो सम्बन्धमा यस विभागबाट आजैदेखि अनुगमन प्रारम्भ भएको हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाईएमा तत्काल कारबाही अगाडि बढाइने व्यहोरा निर्णयानुसार जानकारी गराईन्छ,’ पत्रमा भनिएको छ।
अध्यागमन विभागले युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पनि बोद्धार्थ पत्र पठाएको छ।

Shares

प्रतिक्रिया