खेल


बालेनले कसलाई रोज्दैछन् खेलकुद मन्त्री

बालेनले कसलाई रोज्दैछन् खेलकुद मन्त्री

लक्ष्मी जि.सी
चैत १, २०८२ आइतबार ७:३५, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएर अन्तिम मत परिणाम आइसकेको छ। योसँगै अब बन्ने सरकारबारे धेरैको चासो छ।

झण्डै दुई तिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई निर्वाचनअघि नै अघि सारे पनि को–को मन्त्री बन्दै छन् भन्नेमा जिज्ञासा छ। 

यसैबीच, सरकार निर्माणको आन्तरिक गृहकार्यमा रास्वपा जुटिसकेको छ। अरुजस्तै खेलकुद वृत्त पनि युवा तथा खेलकुद मन्त्रालय हाँक्न अब को आउला भनेर प्रतीक्षामा छ। यसअघि रास्वपाको तर्फबाट खेलकुद मन्त्रालय हाँकेका विराजभक्त श्रेष्ठ फेरि निर्वाचित भएसँगै उनी मन्त्री बन्ने चर्चा खेलकुद क्षेत्रमा सुरु भएको छ।

प्रधानमन्त्री बन्दै गरेका बालेनप्रति खेलकुद क्षेत्रमा त्यत्तिकै क्रेज छ, उनी आफू झन् खेलकुद क्रेजी हुन्। क्रिकेटप्रति बालेनको क्रेज हालै विश्वकपका बेला पनि देखिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक्समा जवाफ फर्काउँदा उनले केही दिनअघि मात्रै विश्वकप जितेकोमा भारतलाई बधाई दिएका थिए। 

प्रधानमन्त्रीका रुपमा बालेनप्रति ठूलो जनअपेक्षा त छ नै, खेलकुद क्षेत्रले झन् उनीबाट ठूलो अपेक्षा र विश्वास राखेको छ। त्यसैले उनी आफैले परिणाम निकाल्न सक्ने गरी मन्त्रीहरूको नाम छनोट गरिरहेको अवस्थामा खेलकुद मन्त्रीमा कसलाई ल्याउलान भन्ने धेरैको चासो छ।

मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका विराजभक्त श्रेष्ठ रास्वपाका सचिवालय सदस्य हुन्। यसपटक पनि उनी काठमाडौं ८ बाट निर्वाचित भएका छन्। बालेन सरकार बन्दै गर्दा युवा तथा खेलकुदमन्त्री बन्ने चर्चामा श्रेष्ठको पनि नाम आउनु अस्वभाविक होइन।

तथापि, विराजभक्तबाहेक पनि अन्य सांसदलाई युवा तथा खेलकुदमन्त्री बनाउने चर्चा पनि पार्टीभित्र चलिरहेको छ। यस्तोमा छलफलमा बब्लु गुप्ताको नाम पनि छ। गुप्ता जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारमा युवा तथा खेलकुदमन्त्री थिए। उनी पनि यसपटक निर्वाचित भएकाले छलफलमा आएका हुन्। तर रास्वपाबाटै चुनाव जितेका तथा यसअघि जेनजी कोटाबाट मन्त्री चुनिएका बब्लुको छोटो समयको कार्यकाल ‘विवादित’ बन्यो।

उनी बीचैमा आफ्नो जिम्मेवारी छाडेर चुनाव लड्न निस्किए। उनले २०८२–०७–०९ देखि १०–०५ सम्म मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। त्यसैले उनी सुरुवातबाटै खेलकुद मन्त्रालयको मन्त्री बन्ने दौडबाट बाहिरिसकेका छन्। 

त्यस्तै गोरखाबाट निर्वाचित सुदन गुरुङको नाम पनि खेलकुद मन्त्री बन्ने सम्भावित सूचीमा रहेको रास्वपाका नेताहरू बताउँछन्। जेनजी आन्दोलनबाट चर्चा र विवादमा आएका गुरुङ गृहमन्त्री नै बन्ने आकांक्षा राखिरहेका छन्। चुनौतीपूर्ण र काम देखाउन सकिने मन्त्रालय सम्हाल्ने गरी बालेन सरकारमा जाने दाउमा छन् गुरुङ। 

तर छोटो समय मन्त्रालय सम्हालेका विराजभक्त नै पुनः मन्त्री बनेर युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने सक्ने सम्भावना बलियो रहेको रास्वपाका नेताहरूको भनाइ छ।  

यसअघि उनी प्रतिनिधिसभाको सांसद बनेपछि नै मन्त्री बनेका थिए। विवेकशील साझा पार्टीबाट बागमती प्रदेशका सांसद रहेका उनी पछि रास्वपामा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका थिए। 

श्रेष्ठले २०८०–११–२३ देखि २०८१–३–२८ सम्म खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाले। छोटो समयमा पनि नितिगत सुधारमा काम गरेका श्रेष्ठ फेरि मन्त्रालय सम्हाल्न आउने चर्चा चलेपछि खेलकुद क्षेत्र पनि उत्साहित देखिएको छ। 

उनले आफ्नो कार्यकालमा सहभागितामूलक नीतिनिर्माणको अवधारणाअनुरुप राष्ट्रिय खेलकुद नीति र राष्ट्रिय युवानीतिको मस्यौदाका लागि प्रदेशस्तरमा राय सुझाव संकलन गरेका थिए। 

खेलकुद पूर्वाधार निमार्णका लागि मूलपानी क्रिकेट रगंशालाको डीपीआर तयार पार्नुका साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालाको मर्मतलाई प्राथमिकता राख्दै काम गरेका थिए। 

फिफा विश्वकप छनोट २०२६ तयारीका लागि अभ्यास खेलका लागि मलेसिया जान लागेको टोलीमा अनावश्यक १० जनालाई सहभागी गराउन लागेको र उनीहरुलाई पठाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृति नलिएको भन्दै उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई कारबाहीको निर्देशन दिएका थिए।

उनकै कार्यकालमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान)बीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढेको थियो। 

कतारका अमिर नेपाल भ्रमणमा आउँदा नेपाल सरकार र कतार सरकारबीच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा पनि सहकार्य गर्ने समझदारी गरेका थिए। 

देशभरको रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गर्दै रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रगंशालाको मर्मत कार्यका लागि पनि उनले पहलकदमी लिएका थिए। 

यद्यपि चार महिना मन्त्री हुँदा विराजभक्तले एक पटक पनि राष्ट्रिय खेलकुद परिषद्को बैठक भने राख्न सकेनन्। तर पनि नीतिगत सुधारका लागि काम गरेका विराजभक्तले पुनः खेलकुद मन्त्रालयको बागडोर सम्हाल्ने चर्चाले खुलकुद क्षेत्र उत्साहित नै सुनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad