खेल


विश्वकपको उपाधिका लागि भारत र न्यु जिल्यान्ड भिड्ने

विश्वकपको उपाधिका लागि भारत र न्यु जिल्यान्ड भिड्ने

नेपालखबर
फागुन २१, २०८२ बिहिबार २३:५३, काठमाडौँ

आईसीसी टी-२० विश्वकपको उपाधिका लागि साविक विजेता भारत र न्यु जिल्यान्ड भिड्ने भएका छन्। 

फाइनल खेल आइतबार साँझ सवा ७ बजे अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले न्यु जिल्यान्डसँगको भेट पक्का गरेको हो। 

भारतले दिएको २ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ४६ रन बनायो। त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विश्वकप आयोजक भारतले निर्धारित २० ओभरमा ७ विकेटको २ सय ५३ रनको योगफल तयार पारेको थियो। 

बुधबार भएको पहिलो सेमिफाइनलमा न्यु जिल्यान्डले साविक उपविजेता दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। न्यु जिल्यान्डले दोस्रो पटक फाइनल खेल्न लागेको हो। अहिलेसम्म न्यु जिल्यान्डले विश्वकपको उपाधि जित्न सकेको छैन। 

यसअघि सन् २०२१ मा भएको विश्वकपमा न्यु जिल्यान्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेको थियो। तर अस्टे«लियासँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो। त्यसअघि सन् २००७, २०१६ र २०२२ मा भने सेमिफाइनलबाटै बाहिरिएको थियो। 

भारत भने चौथो पटक उपाधि नजिक पुगेको हो। भारतले यसअघि सन् २००७ र २०२४ मा विश्वकपको उपाधि उचालेको थियो। भारतले सन् २०१४ मा भने उपविजेतामा चित्त बुझाएको थियो। सन् २०१६ र २०२२ मा भने भारत सेमिफाइनलबाटै बाहिरिएको थियो। 

२० टोली सहभागी विश्वकपमा चार समूहमा विभाजन गरिएको थियो। हरेक समूहबाट शीर्ष २ टोलीले ‘सुपर-८’ मा स्थान बनाएका थिए। 

सुपर-८ मा दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनल यात्रा तय गरेका थिए। सुपर-८ को समूह-१ बाट दक्षिण अफ्रिका र भारत तथा समूह-२ बाट इंग्ल्यान्ड र न्यु जिल्यान्डले सेमिफाइलमा स्थान बनाएका थिए। 

विश्वकप गत फेब्रुअरी ७ देखि सुरु भएको थियो। समूह चरणका ४०, सुपर-८ का १२ र सेमिफाइनलका दुई खेलपछि विश्वकपको फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad