खेल


दक्षिण अफ्रिका सेमिफाइनलमा, वेस्ट इन्डिजको यात्रा अन्योलमा

दक्षिण अफ्रिका सेमिफाइनलमा, वेस्ट इन्डिजको यात्रा अन्योलमा

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १८:५४, काठमाडौँ

दक्षिण अफ्रिकाले भारत र श्रीलंकामा जारी आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ को सेमिफाइनल यात्रा तय गरेको छ। बिहीबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको सुपर–८ को महत्त्वपूर्ण खेलमा वेस्ट इन्डिजलाई ९ विकेटको फराकिलो अन्तरले पन्छाउँदै दक्षिण अफ्रिका अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो।

यसअघि समूह ‘२’ बाटै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिकाले आफ्नो मजबुत उपस्थिति जनाउँदा हारका बाबजुद वेस्ट इन्डिज भने अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने दबाबमा परेको छ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको १७७ रनको लक्ष्यलाई दक्षिण अफ्रिकाले कुनै कठिनाइ बिना १६.१ ओभरमै मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। दक्षिण अफ्रिकाको जितका आधार ओपनर क्विन्टन डी कक र कप्तान एडेन मार्करमले तयार पारेका थिए। यी दुईले पहिलो विकेटका लागि ९५ रनको आक्रामक साझेदारी गरे। डी ककले २४ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोडेर आउट भए।

दोस्रो विकेटका लागि मार्करम र रायन रिकेल्टनले ८२ रनको अविजित साझेदारी गर्दै टोलीलाई २३ बल अगावै जित दिलाए। कप्तान मार्करम ४६ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ९२ रनमा नटआउट रहे। उनलाई रिकेल्टनले भरपूर साथ दिए।

वेस्ट इन्डिजको मध्यम योगफल
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १७६ रन बनाएको थियो। टोलीका लागि रोमारियो सेफर्डले ३७ बलमा ५२ रनको अविजित इनिङ्स खेले पनि त्यो पर्याप्त भएन। जेसन होल्डर ४९ रनमा रनआउट हुनु वेस्ट इन्डिजका लागि प्रत्युत्पादक बन्यो। अन्य ब्याटरमा ब्रान्डन किंगले २१ र कप्तान साई होपले १६ रन मात्र जोड्न सके।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ३ विकेट लिँदै वेस्ट इन्डिजको मध्यक्रम धराशायी बनाएका थिए । कागिसो राबडा र कोर्बिन बोस्चको नाममा समान २ विकेट रह्यो।

जितसँगै दक्षिण अफ्रिका सेमिफाइनल पुग्दा वेस्ट इन्डिजको २ अंक छ। अंकविहीन भारत र जिम्बावे क्रमशः तेस्रो र चौथो स्थानमा छन्। वेस्ट इन्डिजलाई अब सेमिफाइनल पुग्न आफ्नो अन्तिम खेल जित्नुपर्ने मात्र नभई, भारत र जिम्बावेबीचको खेलको नतिजा पनि आफ्नो अनुकूल आउनुपर्नेछ।

आजै साँझ सवा ७ बजे चेन्नाईमा हुने खेलमा भारतले जिम्बावेको सामना गर्दैछ। भारतका लागि यो खेल 'सेमिफाइनल अघिको सेमिफाइनल' जस्तै हुनेछ, जहाँ हारले भारतलाई विश्वकपबाटै बाहिर पुर्‍याउन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad