साविक विजेता इंग्ल्यान्डले आफ्नो 'पावर गेम' प्रदर्शन गर्दै भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। समूह ‘सी’ अन्तर्गत आइतबार कोलकाताको ईडेन गार्डेन्समा भएको निर्णायक खेलमा इटालीलाई २४ रनले पन्छाउँदै इंग्ल्यान्डले सुपर-एटको टिकट काटेको हो।
यस समूहबाट वेस्ट इन्डिजले यसअघि नै लगातार जित निकाल्दै माथिल्लो चरण तय गरिसकेको छ। इंग्ल्यान्डले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो। योसँगै नेपाल, स्कटल्यान्ड र इटालीको विश्वकप यात्रा समूह चरणमै सीमित भएको छ।
ज्याक्सको कीर्तिमानी इनिङ्स
टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रनको विशाल योगफल तयार पारेको थियो। टोलीको जितमा विल ज्याक्सले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमान रचे। उनले मात्र २१ बलमा अर्धशतक पूरा गर्दै इंग्ल्यान्डका लागि टी-२० विश्वकपमा 'फास्टेस्ट ५०' को नयाँ रेकर्ड कायम गरे।
उनले पूर्व कप्तान ओएन मोर्गनको नाममा रहेको कीर्तिमान भंग गरे। मोर्गनले सन् २०१२ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध २५ बलमा ५० रन बनाएका थिए। ज्याक्स ५३ रनमा अविजित रहे। त्यस्तै टम बान्टनले ३० र फिल साल्टले २८ रन जोडे। इटालीका ग्रान्ट स्टवार्ट र कृशन कलुगामागेले २–२ विकेट लिए।
मनेन्टी र स्टवार्टको बहादुरी प्रयास
तल्लो क्रममा ग्रान्ट स्टवार्टले १७ औं ओभरमा आदिल राशिदलाई लगातार तीन छक्का प्रहार गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। तर, १८ औं ओभरको अन्तिम बलमा साम करनले स्टवार्ट (४५ रन) लाई आउट गरेपछि इटालीको अप्रत्यासित जितको सपना सकिएको थियो।
बलिङतर्फ इंग्ल्यान्डका साम करन र जेमी ओभर्टनले ३–३ तथा जोफ्रा आर्चरले २ विकेट लिए।
Shares

प्रतिक्रिया