यतिबेला क्रिकेटको महासंग्राम विश्वकप चलिरहेको छ। नेपाली राष्ट्रिय टोली पनि विश्वकप प्रतियोगितामा सहभागी छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी प्रतियोगितामा नेपालले दुई खेल खेलिसकेको छ। नेपालले पहिलो खेलमा दुई पटकको विश्वविजेता इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्यो भने दोस्रो खेल इटालीसँग खेल्यो। यद्यपी यी दुवै खेलमा नेपाल पराजित भयो।
तर, इङ्ल्यान्डसँगको खेलमा नेपाली टोलीले राम्रै वाहवाही पाएको छ। चर्चित र शक्तिशाली मानिएका क्रिकेट टोलीहरू नेपाली खेलाडीसँग झस्किएका छन्।
नेपालको कमजोर संरचना र अन्य मुलुकको तुलनामा छोटो तयारीका बाबजुद नेपाली क्रिकेट यो उचाईमा पुग्नु चानचुने कुरा होइन।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नेपाली क्रिकेटले दर्शकको धेरै माया पाएको बताउँछन्। अहिले मुम्बईमा पनि टीयू क्रिकेट मैदानको जस्तै वातावरण सिर्जना भएको भन्दै नेपाली दर्शकमा हाम्रो क्रिकेटले हार्न हुँदैन भन्ने मानसिकता विकास भएको ठान्छन्।
नेपाली टोलीका पूर्वकप्तान समेत रहेका पारस नेपाली क्रिकेटले धेरै माया पाएको बताउँदै त्यो मायालाई निराशा हुन दिनु हुँदैन भन्छन्।
जारी विश्वकपमा नेपालको प्रदर्शन, नेपाली क्रिकेटको अवस्था लगायत विषयमा न्युज एजेन्सी नेपालले सचिव खड्कासँग कुराकानी गरेको छ।
इङ्ल्यान्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ?
दोस्रो खेल इटालीसँग जस्तो प्रदर्शन भयो त्यसले सबै निराश हुनुहुन्छ। अप एन्ड डाउनको अवस्था त्यो खेलमा पनि देखियो। खेल हो, जित हार हुन्छ। तर पहिलो खेलमा जसरी खेल्यो र दोस्रो खेलमा जस्तो हार भयो। त्यो पक्कै पनि सहज थिएन।
इटालीको क्रिकेटको इतिहास ठूलो छैन। तर त्यहाँ राम्रा खेलाडी र कोचिङ हुनुहुन्छ। उहाँहरूले राम्रो काम गर्नुभयो। नेपाली क्रिकेटको समर्थक हुन सहज छैन। अहिले म पनि समर्थककै रूपमा हेरिरहेको छु। मलाई पनि सहज थिएन।
मुम्बईमा समर्थकले नेपाली टोलीप्रति धेरै माया देखाउनुभएको छ। हरेक रेस्टुरेण्टमा जाँदा अहिले नेपालीहरू भेटिनुहुन्छ। यो नेपाली क्रिकेटले कमाएको माया हो। नतिजा खराब आउँदा निराश हुनु स्वभाविक हो। तर पनि यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ।
अनफिल्ड प्रदर्शनले नै नेपाली क्रिकेटले धेरै माया पाएको छ। त्यो मायालाई निराशा हुन दिनु हुँदैन। हाम्रा खेलाडी पनि निराशा छन्। अहिलेका लागि हामीले धैर्यता राखौँ।
नेपाली क्रिकेटको प्रदर्शनमा सन्तुलन किन हुन सकेको छैन?
खेलाडी उत्पादन हुने नेपाल क्रिकेटको संरचना धेरै राम्रो छैन। सन् १९९६ र २०२६ सम्म नेपालको अन्तर्राष्ट्रिय क्रिकेट ३० वर्ष भएको छ। यो अवधि हेर्ने हो भने राम्रो खेलाडी आए र प्रशिक्षकहरू राम्रो आउनुभयो। केही राम्रा व्यवस्थापक पनि आउनुभयो। सबैको संयुक्त इफोर्टले यहाँसम्म आइपुगेका हौँ।
खेलाडीहरूले मिहेनत गरेको छ, फोकस छन्। राम्रो प्रदर्शनलाई स्थिरतामा राख्न हाम्रो जनरल पर्सनालिटीले व्यवस्थापन गर्नुपर्छ। सबै एउटै माटोमा हुर्किरहेका छौँ। कहिले कहीँ सामाजिक सञ्जालमा आउने प्रतिक्रियाहरूले पनि खेलाडीहरूलाई असर पर्ने गरेको सम्भावना छ। यसले प्रदर्शनलाई स्थिरता बनाउन सकेको छैन। तर यो एक्सक्युज होइन।
हाम्रा खेलाडीलाई मानसिक रूपमा विकास गर्न आवश्यक छ। खेलाडी भएपछि कसले माया गर्छ या गर्दैन भनेर हेर्नु हुँदैन। खेलाडीको मानसिकता बलियो नै हुनुपर्छ। अहिले खेलाडी मेहनती छन्। अब पर्सनालिटी बढाउन पनि काम गर्ने हो भने नेपाली क्रिकेट अझै सन्तुलनमा बन्नसक्छ।
पूर्वकप्तानका रूपमा इटालीसँगको हार सहज कतिको गाह्रो हुन्छ?
एउटा खेलाडीको रूपमा हरेक हार सहज हुँदैन। म खेल्दा सबैभन्दा विशेष क्षण के थियो भनेर सोध्नुभयो जित हुँदा खुशी र हार हुँदा निराश नै हुन्छ।
देशको लागि खेल्नु गर्वको क्षण हो। पहिलेको जनेरेसनको क्रिकेट र अहिलेमा धेरै परिर्वतन भइसकेको छ। अहिले नेपाली क्रिकेट हार्न नै हुँदैन भन्ने भावना पैदा भइरहेको छ। मुम्बईमा पनि टियुको जस्तो वातावरण सिर्जना भएको छ। तर यो माया हो।
मैले पनि समर्थकको रूपमा नै हेरिरहेको छु। इटालीसँग १२४ रनको सानो लक्ष्य हुँदा पनि जित्छौं भन्ने विश्वास थियो। इङ्ल्यान्डविरुद्धको त्यो प्रदर्शनपछि लगत्तै यस्तो नतिजा आउँदा सहज थिएन। त्यसले सबलाई निराशा बनाएको छ।
पहिलो र दोस्रो खेल जितेको भए माहोल फरक हुन्थ्यो। यो स्थानसम्म आउनु पनि ठूलो पक्ष हो। हाम्रो संरचनाअनुरूप यहाँसम्म आउनु सुखद् पक्ष हो। प्रदर्शनमा मात्र सन्तुलन हुन सकिरहेको छैन। दुई खेल सकिसकेको छ।
त्यसलाई बिर्सनुपर्छ। आगामी दुई खेलबारे सोच्नुपर्छ। ती खेलमा राम्रो गर्नुपर्छ। समर्थकहरू अहिले अब नतिजा चाहिन्छ भन्नेमा पुग्नु भइसकेको छ। पहिलो खेलको प्रदर्शन दोहोर्याउने हो भने अझ राम्रो नतिजा आउँछ। अकंगणीतिय रूपमा हाम्रो अझै सम्भावना बाँकी छ।
फेब्रुअरी महिना र नेपाली क्रिकेटबारे सुखद् संयोग छ। आशामा अगाडि बढ्नुपर्छ र आशा छ, यो टिमले आगामी खेलमा राम्रो गर्छ। हामी पनि नेपाली क्रिकेटलाई बलियो बनाउन लागेको छौँ।
इङ्ल्यान्डविरुद्ध प्रदर्शनपछि विश्वका स्टार खेलाडी, ठूला फ्रेन्चाइच टोली र धेरै प्रंशसा गरेको थियो, सबैको आखामा नेपाली क्रिकेटमा देखियो, तर एक्कासी त्यो किसिमको हारले नेपाली क्रिकेटलाई कति असर पुर्याउनेछ?
नेपाली क्रिकेट माथि पुगेको छ भन्नु विश्वकप खेल्नु नै हो। यहाँभन्दा माथि जान सक्दैनौँ। हाम्रो इतिहास र संरचना कस्तो छ? त्यो अनुसार विश्वकप खेलेका छौँ। विस्तारै विश्व क्रिकेटमा नोटिस हुन थालेका छौँ। विस्तारै खेलप्रति राम्रो संस्कार बस्दैछ।
हामी विश्वकप खेल्दैछौँ र एकदिवसीय मान्यता छ। यो पनि राम्रो पक्ष हो। विश्वकपसँगै एकदिवसीय साइकल पनि राम्रो गर्नुछ। एकदिवसीय मान्यता जोगाउन धेरै गृहकार्य गर्न आवश्यक छ। तालीसँगै गाली पनि स्वीकार गर्छौं।
खेलाडीले पनि आलोचनालाई सकारात्मक रूपमा लिनु भएको छ। विश्वकप खेल्दा धेरै खुशीयाली मनाउनुपर्ने अवस्था छैन। आशा धेरै छन्। तर तेस्रो खेलमा जित हार एक ठाउँमा छन्। प्रदर्शन राम्रो गर्नुपर्छ।
नेपालले पहिलो खेलपछि विश्व क्रिकेटका लिजेन्ड र फ्रेन्चाइज टोलीबाट प्रंशसा पाएको थियो, तर कप्तान रोहित पौडेलले गत संस्करणको विश्वकपमा राम्रो प्रदर्शन गरेपछि ठूला टोलीसँग खेल्न पाएनौँ भन्ने थियो, रोहितले पछिल्लो विश्वकपमा पनि धेरै प्रशंसा पाएका थिए, २०२४ को विश्वकपपछि ठूला टोलीसँग सिरिज आशा गरे पनि अवसर पाएनौँ भन्नुभएको थियो, यस विश्वकपपछि राम्रो टोलीसँग खेल्न पाउने सम्भावना कति छ?
नेपालको क्रिकेट इतिहास हेर्ने हो भने थोरैले मात्र ठूला फ्रेन्चाइज क्रिकेट खेल्नुभएको छ। सन्दीप लामिछानेले मात्र सबै विश्वको फ्रेन्चाइज लिग खेल्नुभएको छ। उहाँले आईपीएल लगायत खेल्नु भएको छ। अन्य केही खेलाडी मात्र फ्रेन्चाइज खेल्नुभएको छ।
कुनैपनि फ्रेन्चाइज लिगले नेपालबारे सामाजिक सञ्जालमा गरेको प्रशंसा सम्मान हो। १० वर्षअगाडि यो अवस्था पनि थिएन। हामीले ठूला राष्ट्र र टेस्ट प्लेइङसँग खेल्न राम्रो प्रदर्शन गर्दै जानुपर्छ। उहाँहरूसँग खेल्न सहज छैन। उहाँहरूसँग खेल्न प्रदर्शनमा पनि सन्तुलन राख्नुपर्छ। तर पनि ठूला राष्ट्रसँग श्रृंखला गर्न पहल गरिरहेका छौं।
तर टोलीको प्रदर्शनबाट पनि ती टोलीको आँखामा पर्नुपर्छ। अफ दी फिल्ड र अन द फिल्ड राम्रो हुनुपर्छ। जब देशले जित्छ या राम्रो गर्दै जान्छ राम्रो श्रृंखला आफैं आउँछ। अनि खेलाडीहरू पनि फ्रेन्चाइज लिगको आँखामा पर्नेछन्। यो टोलीमा विश्वास छ र प्रदर्शनमा पनि सन्तुलन आउनेछ।
Shares

प्रतिक्रिया