खेल


विश्वकप खेल्ने टोलीलाई शुभकामना दिँदै मल्ल भन्छन्- मैदान फेरिएको हो, लक्ष्य उही छ

विश्वकप खेल्ने टोलीलाई शुभकामना दिँदै मल्ल भन्छन्- मैदान फेरिएको हो, लक्ष्य उही छ

नेपालखबर
माघ ११, २०८२ आइतबार १२:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले मैदान फेरिए पनि लक्ष्य उही रहेको बताएका छन्। 

समानुपातिक सूचीमा परेपछि मल्लले माघ अन्तिम साताबाट भारत र श्रीलंकामा हुने आइसीसी टी-२० विश्वकपको सहायक प्रशिक्षकको भूमिकाबाट बाहिरिएका थिए। 

मल्लले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत विश्कप खेल्ने टोलीलाई शुभकामना दिँदै ‘मैदान फेरिएको तर लक्ष्य उही रहेको’ भन्दै लामो स्ट्याटस लेखेका छन्। ‘सबैभन्दा पहिले, म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति हार्दिक आभार प्रकट गर्दछु,’ मल्लले लेखेका छन्, ‘म जस्तै खेल क्षेत्रमा लागेको व्यक्तिलाई विश्वास गरेर आगामी निर्वाचनका लागि समानुपातिक प्रतिनिधिको रूपमा मनोनीत गर्नु, खेलाडीलाई विश्वास गरी अवसर दिने यो साहस बिरलै देखिन्छ। यो विश्वास मेरो लागि मात्र नभई सम्पूर्ण खेल जगतकै लागि एउटा ठुलो सम्मान हो।’

‘यस नयाँ जिम्मेवारीसँगै, मैले नेपाल क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट नैतिकताको आधारमा बिदा लिएको जानकारी सबैमा स्पष्ट भइसकेको छ। खेल मेरो जीवनको अभिन्न हिस्सा हो, तर अहिले देशलाई अर्को रूपमा सेवा गर्ने समय आएको छ,’ उनको थप भनाइ छ।

अनि उनले क्रिकेट टोलीलाई पनि शुभकामना दिएका छन्। ‘विश्वकप खेल्न जाँदै गरेको नेपाली क्रिकेट टोलीलाई हार्दिक शुभकामना-फेरि एकपटक तपाईंहरूले हामी सबैलाई गौरवान्वित बनाउनुहुनेछ भन्ने पूर्ण विश्वास छ,’ मल्लले लेखेका छन्। 

आफूले रोजेको परिवर्तन पदको चाहनाबाट नभइ भविष्यप्रतिको उत्तरदायित्वबाट सुरु भएको उनको तर्क छ। ‘यो यात्रा मेरो व्यक्तिगत पदका लागि होइन्, हाम्रा आगामी पुस्ताका लागि हो, ती युवाहरूका लागि हो जसले एउटा सुन्दर र समृद्ध नेपालको सपना देखेका छन्,’ मल्लको भनाइ छ, ‘परिवर्तनका लागि हाम्रा युवाहरूले गरेका त्याग र बलिदानलाई सार्थक बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। आउनुहोस्, हामी एकजुट बनौं। हिजो जस्तै आज पनि मलाई विश्वास र साथ दिनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad