प्रतिभा। नामै काफी। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी अमूल्य गहना। उनी चम्किँदा न्यु डायमन्ड अझै चम्किन्छ, उपाधि उचाल्छ।
यस्तै भयो पछिल्लो समय। उनको क्लबले एकै साता दुई प्रतियोगिता खेल्यो। दुवैमा च्याम्पियन बन्यो र दुवैमा सर्वोत्कृष्ट बनिन् प्रतिभा माली। भलिबलमा चिरपरिचत नाम।
एकै साता उनले एनभीए महिला भलिबल च्याम्पियनसिप र नवौँ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै उपाधि दिलाइन्।
क्लब होस् वा राष्ट्रिय भलिबल टोलीबाट घरेलु प्रतियोगिता खेल्दा होस्, उनको नाम खोजी भइहाल्छ।
अस्ट्रेलियामा अध्ययनरत उनी पछिल्लो समय नेपालमा घरेलु प्रतियोगिता खेल्न व्यस्त छिन्।

चोटले रोकेन पुनरागमन
डायमन्डले एकै साता लगातार दुई उपाधि जित्दा टोलीकी मुख्य खेलाडी थिइन् प्रतिभा।
त्यसो त डायमन्ड पछिल्लो समय खेल्ने हरेक प्रतियोगितामा उपाधि दाबेदार बन्दै आएको छ। यस्तोमा प्रतिभाको आगमन उसका लागि झनै खास हुने गर्छ।
एउटा खेलाडीको जीवनमा चोट र पुनरागमनको सिलसिला चलिरहन्छ। प्रतिभाको हकमा पनि त्यही भएको छ।
२०८० मा प्रशिक्षणको क्रममा घुँडामा चोट लागेपछि प्रतिभाले घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कपमा दर्शकदिर्घामा बसेर हेर्नुपर्यो। त्यसअघि २०७८ मा पनि बायाँ घुँडामा चोट लागेपछि उनले ९ महिना कोर्ट छाड्नुपरेको थियो।
यहीबीच उनी अस्ट्रेलिया लागेकी थिइन्। प्रतिभा अस्ट्रेलिया गएपछि धेरैले टोलीमा पुनरागमन गर्न नसक्ने अड्कल काटेका थिए। खेलमा फर्किन नसक्ने भएपछि देश छाडेको र अब उनी नफर्किने आकलन उनीहरुको थियो। तर त्यसो भएन। उनी फर्किन्।
‘अस्ट्रेलियामा जाने तयारी पहिला नै थियो। धेरैले खेल्न नसकेपछि गयो भनेर बुझ्नुभएको रहेछ’, उनी भन्छिन्, ‘तर जानुअघि विदा मिलाएर घरेलु र राष्ट्रिय खेलमा फर्किन्छु भनेर नै गएको थिएँ।’
अहिले तीन घरेलु प्रतियोगिता खेल्न उनी नेपाल आएकी हुन्। लगातार दुई प्रतियोगितामा उपाधि उचालेपछि उनको टोली अहिले टाइगर कप खेल्न बुधबार पोखरा पुगेको छ।
लामो समयपछि घरेलु कोर्टमा उनलाई देखेका भलिबल समर्थक निकै खुसी छन्।
भिडिओ :
अस्ट्रेलियामा पनि खेल्छिन् भलिबल
पढ्नका लागि अस्ट्रेलिया गए पनि पढाइ र काम सँगसँगै समय मिलाएर भलिबल खेल्ने गरेको उनी बताउँछिन्।
‘यहाँ दर्शकको साथ पनि उस्तै छ, अस्ट्रेलियामा यहाँजस्तो हुँदैन। चोटपछि एक वर्ष मैदानबाहिर रहेँ’, उनले सुनाइन्, ‘काभा पनि खेल्न पाइनँ। यहाँ बस्न गाह्रो भएर भन्दा पनि खेल जीवनपछि पनि के गर्न सकिन्छ भनेर सोच्ने हो, पढाइ सकेपछि फर्किन्छु नै!’
प्रतिभासँगै राष्ट्रिय टोलीकी अर्की मुख्य खेलाडी सरस्वती चौधरी पनि अस्ट्रेलियामा छिन्। टोलीकै साफिया पुनलगायत अन्य खेलाडीले वैदेशिक रोजगारीलाई गन्तव्य बनाएका छन्।
प्रतिभा अस्ट्रेलियामा पनि खेलसम्बन्धी नै अध्ययन गरिरहेको बताउँछिन्।
‘अझै क्लब र देशलाई केही गर्नुपर्छ भन्ने छ’, उनी भन्छिन्, ‘देशको लागि अझै खेल्न मन छ। अस्ट्रेलियामा भए पनि हामी देशका लागि खेल्न तयार छौँ।’

राष्ट्रिय टोलीमा फर्किने चाहना
प्रतिभा देशले स्वर्णपदक जितेको हेर्न चाहन्छिन्। त्यसका लागि राष्ट्रिय टोलीमा फर्किन सक्ने आफ्नो सम्भावना उनले देखेकी छिन्।
अहिले घरेलु कोर्टमा प्रतिभाको आगमनलाई उनको राष्ट्रिय टोलीमा पुनरागमनका लागि तयार रहेको संकेतका रुपमा धेरैले बुझेका छन्।
प्रतिभा भन्छिन्, ‘एसियन खेलकुद खेल्ने रहर पूरा भयो। दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेका छौँ, अब लक्ष्य भनेको स्वर्ण नै हो। मिहिनेत गर्यौँ भने पदक ल्याउन सक्छौँ।’
प्रतिभालाई भलिबल खेलाडी बनाउने श्रेय न्यु डायमन्डका मुख्य प्रशिक्षक कुमार राईलाई जान्छ। राईकै जोडबलमा उनले भलिबल खेल्न थालेकी थिइन्।
‘डायमन्डमा कुमार सरको कारण नै खेलेको हो। भलिबल मेरो रहरले खेलेको हैन’, उनले भनिन्, ‘कुमार सरले यो खेल्नुपर्छ भनेर हाम्रो लागि सपना देख्नुभयो। अनि हामीले सरको सपनालाई पछ्याइरहेका छौँ।’

Shares

प्रतिक्रिया