नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा आयोजना हुन लागेको आइसिसी महिला टी-२० विश्वकप छनोटमा टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी छन्।
आइसिसी महिला टी-२० विश्वकप छनोट आइतबारदेखि नेपालमा सुरु हुँदैछ। छनोट प्रतियोगितामा तीन टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावे सहित १० राष्ट्र सहभागी हुँदै आगामी विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्यमा प्रतिस्पर्धा गर्नेछन्। यस छनोटबाट चार टोलीले सन् २०२६ को जुनदेखि इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने आइसिसी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन्।
प्रतियोगिता सुरु हुनुअघि शनिबार आयोजित कप्तानहरूको पत्रकार सम्मेलनमा कप्तान इन्दुले यो क्षणका लागि नेपालले १८ वर्षदेखि निरन्तर मेहनत गर्दै आएको बताइन्। उनले टोलीले उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने अपेक्षा रहेको र सबै खेलाडी प्रतियोगिताका लागि पूर्ण रूपमा तयार तथा उत्साहित रहेको उल्लेख गरिन्।
विश्व क्रिकेटका ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्न पाउँदा खुशी लागेको बताउँदै उनले स्कटल्यान्ड र आयरल्यान्डविरुद्धको खेलबाट धेरै कुरा सिक्न पाएको अनुभव साझा गरिन्। ती अनुभवले छनोटका खेलमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ। प्रशिक्षण प्रभावकारी भएको र खेलाडीहरूको आत्मविश्वास बढ्दै गएको पनि उनले बताइन्।
सफलता एकैचोटि नआउने भन्दै त्यसका लागि समय र निरन्तरता आवश्यक हुने कप्तान इन्दुको भनाइ छ। पछिल्लो समय टोलीले राम्रो क्रिकेट खेल्दै आएको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिने आशा व्यक्त गरिन्। उनले यो प्रतियोगिताका लागि लामो समयदेखि प्रतीक्षा गरेको पनि बताइन्।
आगामी पुस्ताका खेलाडीका लागि यो प्रतियोगिताले राम्रो वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै उनले यति ठूलो प्रतियोगिता नेपालमा आयोजना गर्न सहयोग गरेकोमा आइसिसीलाई धन्यवाद दिइन्।
नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ नेदरल्यान्ड, जिम्बावे, थाइल्यान्ड र स्कटल्यान्ड छन्। समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपमा स्थान बनाउनेछन्।
नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ। खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
उता थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले नेपालमै सम्पन्न एसिया क्वालिफायरमा च्याम्पियन बनेको स्मरण गर्दै सधैं एउटै नतिजा नआउने बताइन्। उनले अघिल्लो नतिजा बिर्सेर छनोटमा राम्रो क्रिकेट खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।
छनोटमा सहभागी सबै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया