बागमती


चितवन-२ का मतदाताले तेस्रो पटक पनि रविलाई त्यसैगरी पत्याउलान्?

चितवन-२ का मतदाताले तेस्रो पटक पनि रविलाई त्यसैगरी पत्याउलान्?

सुनिता विष्ट
माघ ३, २०८२ शनिबार २१:४२, हेटौंडा

चितवनबाट संसदीय यात्रा तय गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पनि चितवनलाई नै रोजेका छन्। रास्वपाकै गढ बनेको चितवन-२ बाट तेस्रो पटक चुनावी मैदानमा होमिन लागेका हुन् उनी। 

४ मंसिर २०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट चुनावी मैदानम होमिएका लामिछानले ४९ हजार २६१ मत प्राप्त गरे। वामपन्थी र लोकतान्त्रिक पार्टीको एकाधिकार तोड्दै बहुमतका साथ विजयी भएका लामिछाने चितवनबाट संसदीय यात्रामा उदाए। 

सुशासनको लोकप्रिय नारा र भाषण दिएर संसदको चौथो शक्तिको रुपमा उदाएको रास्वपा आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अझ सशक्त भएर मैदानमा उत्रने तयारीमा जुटेको छ। 

रास्वपाले आउँदो प्रतिनिधि सभा निर्वाचनमा कति सिट जित्ला भन्ने यतीबेला सबैको चासोको विषय बनेको छ। अनि अर्को चासोको विषय बनेको छ लामिछानेलेलाई चितवन-२ का मतदाताले तेस्रो पटक पनि पत्याइदेलान्?

उनले आम निर्वाचन र उपनिर्वाचनमा जस्तै लोकप्रिय मत ल्याउन सक्लान्? सांसद भएदेखि अधिकांश समय जेलमै बिताएका रविले चितवन-२ का मतदाताले अपेक्षा गरेअनुसारको डेलिभरी दिन सके होलान् त?

२०८० वैशाखमा भएको उपनिर्वाचनमा लामिछानेले सोही क्षेत्रबाट २०७९ को भन्दा ५ हजार बढी मत बढाए। उपनिर्वाचनमा उनले ५४ हजार १७५ मत प्राप्त गरे। नेपाली कांग्रेस र नेकपा एमालेलाई भारी मतले पछि पारेर दुईपटक निर्वाचित भएका लामिछानेले यो विरासत आउँदो फागुनको उपनिर्वाचनमा पनि जोगाउन सक्लान्?

२० चैत २०७९ मा चितवन-२ को उपनिर्वाचका लागि लामिछानेले उम्मेदवारी दर्ता गर्ने क्रममा समर्थक बसेका तत्कालिन कांग्रेस नेता जगन्नाथ पौडेलका अनुसार लामिछानेको मत आउँदो निर्वाचनमा अझ बढ्ने संकेत देखिएको छ। पौडेल नेपाली कांग्रेसका पुराना नेता हुन्। 

चितवनको भरतपुर-७ कृष्णपुरवासी ७४ वर्षीय पौडेललाई तत्कालीन अवस्थामा कांग्रेसको कारबाहीमा परेका थिए। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि भुँइकटहर चुनाव चिह्न लिएर चितवन-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनलाई कांग्रेसले कारबाही गरेको थियो। कारबाही भोगेर कांग्रेसबाट अलगिएका उनी हाल रास्वपाको केन्द्रीय वरिष्ठ सल्लाहकारको भूमिकामा छन्।

उनै पौडेलका अनुसार चितवन-२ मा लामिछानेको माहोल अझै उस्तै छ। यो बीचमा रवि जेलमा रहेपनि मतदाताहरु निराश नभएको बताउँदै पौडेलले नेपालखबरसँग भने, ‘केही माहोल बिग्रिएको छैन। मतदाताहरु सकारात्मक नै हुनुुहुन्छ। आम निर्वाचनमा भन्दा उपनिर्वाचनमा ५ हजार बढी मत ल्याउनु भएकै हो। आउँदो निर्वाचनमा कति मत ल्याउनुहोला ठ्याक्कै भन्न सकिने अवस्था त छैन, तर उहाँ सुरक्षित हुनुुहुन्छ।’

पहिलो पटकभन्दा दोस्रो पटक अझ सान्दार मतसहित विजयी भएका लामिछानेको यो विरासत कायम राख्न चितवनमा निर्वाचन परिचालन कमिटी लागिरहेको पौडेल बताउँछन्। ‘चितवन घण्टीकै किल्ला भैसकेको छ। पहिलो पटक भन्दा दोस्रो निर्वाचनमा धेरै मत आयो भन्दैमा हामी तेस्रो पटकका लागि हौसिएका छैनौँ। मत कति आउने भन्दा पनि सुरक्षित हुनुहुन्छ कि गाह्रो छ भन्ने कुरा हो। मलाई लाग्छ रविजी ले पुरानै मतान्तरसहित जुनै दलका उम्मेदवारसँग पनि विजयी हुनुहुन्छ’, उनले भने।

पहिलो निर्वाचनमा उनले ४९ हजार २६१ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए। 

मंसिरमा सांसद बनेर गृहमन्त्री समेत बन्न भ्याएका लामिछाने माघ १३ गते नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि रवि उपप्रधान र गृहमन्त्रीबाट पनि पदमुक्त भएका थिए। 

दुई दिनपछि पुनः नागरिकता लिएका उनी सरकारमा फर्किन चाहन्थे-एउटै अडान थियो गृह मन्त्रालय। तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह नदिने अडान लिएपछि ४२ दिनमै रास्वपा सरकारबाट बाहिरियो, तर सरकारलाई दिएको समर्थन भने कायमै राख्यो।

यता, उपनिर्वाचनको मिति तय भयो। उपनिर्वाचनका लागि चितवन-२ बाटै उम्मेदवार बनेका लामिछानेले कांग्रेसका उम्मेदवार जीतबहादुर श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेसँग भारी मतान्तरका साथ विजयी भएका थिए। 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका श्रेष्ठले ११ हजार ११४ मत ल्याएका थिए। लामिछाने र श्रेष्ठबीचको मतान्तर नै ४३ हजार ६१ थियो। तेस्रो स्थानमा समेटिएका नेकपा एमालेका उम्मेदवार न्यौपानेले १० हजार ९३४ मत प्राप्त गरेका थिए। 

अघिल्ला निर्वाचनहरुमा भारी मतान्तरसहित विजयी भएका लामिछानेसँग चितवनका मतदाता निराश नभएको दाबी गर्दै जगन्नाथ पौडेल भन्छन्, ‘रविले जित्नुहुन्छ। यसमा दुईमत नै छैन। चितवन-२ को राजनीतिक माहोल हामीले हेरिरहेका छौँ।’

गत पुस ४ गते भरतपुरमा गरिएको राजनीतिक सम्बोधनका क्रममा मानिसको उपस्थितीले नै रविसँग मतदाता विचलित भएका छैनन् भन्ने पुष्टि गरेको पौडेलको दाबी छ। 

सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर गत पुस ३ गते रिहा भएका रवि भोलिपल्टै चितवन पुगेर सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad