अस्ट्रेलियामा न्यु जिल्यान्डको क्लबबाट निन्जा ए लिग खेलिरहेकी नेपाली फरवार्ड सावित्रा भण्डारी (साम्बा) घाइते भएकी छिन्।
उनको क्लब वेलिङटन फिनिक्सले जारी सिजनका लागि साम्बाले खेल्न नसक्ने पुष्टि गरेको हो। क्लबका अनुसार साम्बाले दायाँ घुँडामा चोट (एन्टेरियर क्रुसिएट लिगामेन्ट–एसीएल) बोकेकी हुन्।
ब्रिस्बेन रोअरसँगको राउन्ड ११ को खेलमा दोस्रो हाफमा उनी घाइते भएकी थिइन्। विपक्षी टोलीकी गोलरक्षक क्लोइ लिंकनसँग ठोक्किन पुगेपछि उनको घुँडामा चोट लागेको थियो।
बुधबार उनको एसीएल पुष्टि भएको ए लिगले जनाएको छ। यसअघि सन् २०२१ मा पनि उनलाई समान प्रकृतिको चोट लागेको थियो। शल्यक्रियापछि निको भएको लामो समयपछि उनी मैदान फकेकी थिइन्।
‘साम्बाले चोट बोक्दा पूरै टिम दुःखी छ, यो समाचार तपाईंलाई सुनाउनुपर्दा म अझ बढी दुःखी छु’, फिनिक्सका मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले भनेका छन्।
उनले साम्बा टोलीको सर्वाधिक चर्चित खेलाडी भएको समेत बताए।
Shares

प्रतिक्रिया