घरेलु मैदानमा जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार विभागीय टोली एपीएफ फुटबल क्लबले भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीविरुद्ध खेल्दै छ।
राउन्ड रोबिनको खेलमा इस्ट बंगाल शीर्ष र एपीएफ दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेका हुन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल शनिबार साँझ ५ बजे सुरु हुनेछ।
राउन्ड रोबिनको एक खेलअघि नै एपीएफ र इस्ट बंगालबीचको उपाधि भिडन्त तय भइसकेको थियो। त्यसकै एक झलक बुधबार रंगशालामा देख्न पाइयो।
फाइनलअघि राउन्ड रोबिनको अन्तिम खेलमा यी दुई टोली आमनेसामने भए। गोलरहित बराबरीमा खेल सकिएपछि फाइनल खेल अझ रोमाञ्चक हुने आशा गरिएको छ।
त्यसो त नेपाल र भारत साफ फुटबलमा चिरप्रतिद्वन्द्वी टोली हुन्। एक समय नेपाली टोलीमाथि हावी हुने भारतीय टोली पछिल्लो समय पराजित हुँदै आएको छ। त्यसैले भारतका जुनसुकै टोलीले खेले पनि प्रतिस्पर्धा कडा हुने गर्छ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडीले भरिएको एपीएफमाथि सोही लयलाई दोहोर्याउने दबाब छ। घरेलु मैदानमा दर्शकको साथ पाएको एपीएफ इस्ट बंगालको चुनौती पन्छाउँदै उपाधि घरमै राख्न चाहन्छ।
इस्ट बंगाल ५ विदेशी खेलाडीलाई समेट्दै बलियो टोली बनाएर नेपाल आएको छ। एपीएफविरुद्धको पहिलो खेलमा इस्ट बगांलले ३ विदेशी खेलाडीलाई सुरुवाती रोजाइमा मैदान उतारेको थियो।
यता एपीएफसँग भने आफ्नै अनुभवी खेलाडी साथमा छैनन्। एपीएफकी स्टार फरवार्ड तथा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा), मिडफिल्डर प्रिति राई र गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा टोलीमा छैनन्।
व्यावसायिक लिगका लागि हाल देशबाहिर रहेकाले उनीहरुले क्लब च्याम्पियनसिप खेल्ने टोलीबाट बाहिर छन्। च्याम्पियनसिपमा यी दुबै टोली अहिलेसम्म अपराजित छन्।
नेपालले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमीलाई ४–० ले हराएको थियो। दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड महिला एफसीसँग गोलरहित बराबरी खेलेको थियो।
पाकिस्तानको कराँची एफसीमाथि १–० को जित निकालेको एपीएफले राउन्ड रोविनको अन्तिम खेलमा इस्ट बंगालसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो।

इस्ट बंगालले नसरिन स्पोर्ट्स एकेडेमीलाई ७–०, कराँची एफसीलाई २–०, ट्रान्सपोर्ट युनाइटेडलमाथि ४–० को जित निकालेको थियो। एपीएफसँग भने गोलरहित बराबरी खेलेको थियो।
तीन खेलमा जित र एक खेलमा बराबरी गर्दै १० अंकमा इस्ट बंगाल शीर्षस्थानमा छ। २ खेलमा जित र २ खेलमा बराबरी गरेको एपीएफ ८ अंकमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको हो।
च्याम्पियनसिपमा सहभागी भुटानको ट्रान्सपोर्ट युनाइटेड ३ अंकमा तेस्रो स्थानमा रह्यो। समान २ अंक भए पनि गोल अन्तरमा अघि रहँदै पाकिस्तानको कराँची सिटी चौथो र बंगलादेशको नसरिन एकेडेमी पुछारमा रहेर च्याम्पियनसिप सकाएका छन्।
एपीएफको टोली
अनिता बस्नेत (कप्तान), अञ्जना राना मगर, मनमाया दमाई, प्रतीक्षा चौधरी, हिरा भुजेल, गीता राना, सरस्वती हमाल, हिमा रावत, रश्मी कुमारी घिसिङ, निशा थोकर, मिना देउवा, लिला जोशी, शोभा प्रधान, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता केसी, सविता राना मगर, सावित्री किसान, रोश्मी बोहोरा क्षेत्री, सजनी थोकर, कुसुम खतिवडा
Shares

प्रतिक्रिया