राजनीति


जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली

जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली

फाइल फोटो: कार्यवाहक अध्यक्ष नेपाली (बायाँ), अध्यक्ष केसी (दायाँ) र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह


नेपालखबर
पुस ३, २०८२ बिहिबार १६:१४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले पार्टीका वरिष्ठ नेता रश्मीराज नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

हालै बुटवलमा सम्पन्न राजमो केन्द्रीय समितिको बैठकले नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। 

अध्यक्ष चित्रबहादुर केसीले स्वास्थ्य समस्याका कारण केही समय विश्राम लिन चाहेपछि पार्टीले नेपालीलाई कार्यवाहको जिम्मेवारी दिएको महासचिव मनोज भट्टले जानकारी दिए। 

अध्यक्ष केसी आफू र पत्नीको समेत स्वास्थ्य समस्याका कारण पछिल्लो समय भैरहवामा बस्दै आएका छन्। 

विघटित प्रतिनिधि सभा सदस्य केसीले भदौ २३/२४ गतेको जेनजी आन्दोलनका कारण संसद विघटन भएपछि संसदीय राजनीतिबाट समेत फुर्सद पाएका छन्।

जनमोर्चाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका नेपाली पार्टीका तीन जना उपाध्यक्ष मध्ये वरिष्ठ हुन्। सो पार्टीमा पूर्वसांसद दुर्गा पौडेल र जनकराज शर्मा उपाध्यक्ष छन्।

विस. १९९८ सालमा जन्मेका नेपाली दाङको गढवा गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्। तत्कालीन अवस्थामा शिक्षण पेसामा संलग्न उनी पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका कारण निर्वासित समेत भएका थिए। नेपाली संविधानसभा सदस्य समेत हुन्।

यही पुस १ र २ गते बसेको पार्टीको बैठकले निर्वाचन केन्द्रित विभिन्न निर्णयहरू गरेको महासचिव भट्टले बताए। 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन एक्लै लड्ने जनमोर्चाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad