खेल


इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप पुस ३ देखि, १३ देशका एक हजार खेलाडी सहभागी हुने

इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप पुस ३ देखि, १३ देशका एक हजार खेलाडी सहभागी हुने

नेपालखबर
पुस १, २०८२ मंगलबार १७:२०, काठमाडौँ

विभिन्न देशमा गरिँदै आएको इन्टरनेसनल ओपन फ्रेन्ड्सिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) नेपालमा पाँचौंपल्ट हुने भएको छ।

आईओएफटीसी नेपालको आयोजनामा आगामी बिहीबारदेखि पुस ५ गतेसम्म इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको १५औं संस्करण काठमाडौंमा हुने भएको हो। यो आयोजना दुई वर्षको अन्तरमा विभिन्न देशमा गरिँदै आएको छ।

नेपालमा पाँचौंपल्ट यो प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।

आईओएफटीसी नेपालले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

नेपालसहित दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया, अमेरिका, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशलगायत गरी एक हजार खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्।

तेक्वान्दोमार्फत विभिन्न देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध पनि स्थापना गर्ने उद्देश्यअनुरूप यो प्रतियोगिता सन् २००० देखि शुरु गरिएको हो। इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको २५ वर्ष पूरा भएको अवसरमा यो प्रतियोगिता नेपालमा आयोजना गर्न लागिएको आइओएफटिसी अमेरिकाका संस्थापक तथा निर्देशक दिवाकर महर्जनले जानकारी दिए। यसको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा छ भने आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो।

यो प्रतियोगिता पालैपालो अमेरिका र अमेरिकाबाहिर हुँदै आएको छ। हालसम्म पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ, अमेरिकाकै मिसिगन र दक्षिण कोरियाको सोलमा समान एक संस्करण सम्पन्न भइसकेका छन्। पाँचौंपल्ट नेपालमा हुन लागेको च्याम्पियनसिप वल्र्ड तेक्वान्दो (डब्लु) को नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा क्योरोगी (फाइट) र पुम्से गरी दुई विधामा प्रतिस्पर्धा हुने भएको छ। सिनियर पुरुष र महिलामा समान ८ तौल समूह तथा जुनियर र क्याडेटमा समान १० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। पुम्सेमा व्यक्तिगत, पेयर र टिम इभेन्टमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

साथै बोर्ड ब्रेकिङ इभेन्टमा पनि प्रतिस्पर्धा गर्ने च्याम्पियनसिपको इन्टरनेसनल कोअर्डिनेटर अशोक खड्काले जानकारी दिए। यस प्रतियोगितामा कुल दुई सय २२ स्वर्ण, दुई सय २ रजत र चार सय ४४ कांस्य पदकका लागि करिब एक हजार खेलाडीले प्रतिस्पर्धा हुनेछ। १५औं संस्करणलाई भव्य बनाउने आयोजकले जनाएको छ।

अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना गरिने र जसले नेपालको सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश दिने आयोजकको विश्वास छ। यो प्रतियोगिता नेपाली खेलाडीका लागि सन् २०२६ मा अस्ट्रेलियामा हुने १६औं संस्करणको छनोटसमेत रहेको आयोजकले जनाएको छ।

विजेता तथा उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई नगद पुरस्कारसमेत प्रदान गरिनेछ। ओलम्पिक क्याटगोरी (पुरुष र महिला समान तीन तौलसमूह) मा विजेताले ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। यस प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपैयाँ रहेको छ।

यो प्रतियोगिता आइओएफटिसी युएसए, नेप्लिज तेक्वान्दो एकेडेमी र कोटेश्वर तेक्वान्दो डोजाङको सहआयोजना तथा राष्ट्रिय खेलकुद परिषद्, युएनटिएफ, डाएडो र युएसए वल्र्ड क्लास तेक्वान्दो हलिउड (अमेरिका) को सहयोग हुँदैछन्।

यस प्रतियोगितामा कुकिवनका प्रशिक्षक मिन हाक सिओ नेपाल आउनेछन्। सीओले प्रतियोगिताको पहिलो दिन पुम्से सेमीनारमा प्रशिक्षण पनि दिनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad