खेल


एनपीएलको सफलता : दर्शकले साथ दिए, आईसीसीले ‘अप्रिसिएट’ गर्‍यो

एनपीएलको सफलता : दर्शकले साथ दिए, आईसीसीले ‘अप्रिसिएट’ गर्‍यो

दोस्रो संस्करणमा उनीहरुले नयाँ र फरक अनुभूति गर्न पाए (सरोज नेपाल)


लक्ष्मी जि.सी
पुस १, २०८२ मंगलबार १७:४८, काठमाडौँ

आठ टोली, प्लेअफ दौड, त्यसपछिको उपाधि होड अनि फ्लडलाइटको उज्यालो। पहिलोपटक दर्शकले यसपालि नवनिर्मित प्यारापिटबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को मज्जा लिए।

क्रिकेटको रात्रिकालीन मज्जा त भयो नै, दोस्रो संस्करणमा उनीहरुले नयाँ र फरक अनुभूति गर्न पाए। नोभेम्बर १७ मा सुरु भएको एनपीएल डिसेम्बर १३ मा भव्यतासाथ सम्पन्न भइसकेको छ। 

झण्डै १ महिना चलेको लिगले क्रिकेट समर्थकमा विशेष प्रभाव मात्रै पारेन, समग्र खेल संस्कृतिको विकासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्योबाहेक अप्ठ्यारो राजनीतिक माहोलबीच सम्पन्न लिगले सकारात्मक सन्देश दिएको छ। भदौको जेनजी आन्दोलनलगत्तै सभ्य र भव्य रुपमा सम्पन्न हुनु चानचुने कुरा थिएन। कतिपय समूहले आन्दोलन गर्ने भन्दै लिग पछि गर्न भनिरहेकै थिए।

मिति घोषणाले नै एनपीएल हुने र नहुनेमा उत्साह र आशंका बढाइदिएको थियो। त्यसमाथि फ्लडलाइट र प्यारापिट निर्माणकै चरणमा थिए। सरकारले ती सबै काम पूरा गरेर त्रिवि रंगशाला एनपीएल सुरु हुनु अघिल्लो दिन नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरेको थियो। समयमै सम्पन्न हुँदा यसपटकको लिग विशेष बन्न पुग्यो।

लिग सुरु भएसँगै यी सबै प्रश्नको जवाफ स्वरुप फेरिएको रंगशालाले नै दियो। एनपीएल तोकिएको समयमै सुरु भयो र सफलतापूर्वक सम्पन्न भयो।

आईसीसीको प्रशंसा
लिग सफल हुनासाथ नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट प्रशंसापत्र पाएको छ। यसले एनपीएलको विश्वसनीयता र चर्चालाई विस्तार गरेको छ भने क्यानलाई अझै राम्रो गर्ने हौसला मिलेको छ। ठूला प्रतियोगिता आयोजना गर्दा व्यवस्थापकीय कमजोरी देखिनु स्वाभाविक भए पनि क्यानले आफ्नो क्षमताअनुसार सक्दो प्रयास गरिरहेको छ। यसपटक यस्तै देखियो।

पहिले खाली मैदानमा कति दर्शक आए भन्ने एकीन तथ्याङ्क नै हुँदैनथ्यो। अब प्यारापिटसहितको रंगशाला निर्माणपछि दर्शकको तथ्याङ्क, टिकट बिक्री र आर्थिक प्रभाव मापन गर्न सकिने अवस्थामा नेपाली क्रिकेट पुगेको छ।

यो सिजन एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा र ९ खेल दिनको समयमा आयोजना भए, जसले दर्शक व्यवहार र प्राथमिकतासमेत उजागर गरेको खेल क्षेत्रका जानकार बताउँछन्।

बढायो अपेक्षा
पहिलो सिजनको सफलताले दोस्रो सिजनप्रति अपेक्षा स्वाभाविक रूपमा बढेको थियो। यसपटक प्यारापिट र फ्लडलाइटले त्यस अपेक्षालाई थप उचाइमा पुर्‍याएको छ। समर्थकको उत्साह, फ्रेन्चाइज टोलीको तयारी र प्रतिस्पर्धाले एनपीएललाई एउटा पूर्ण लिगको आकार दिएको छ।

टोलीलाई बलियो बनाउन सबै फ्रेन्चाइजले कुनै कसर बाँकी राखेनन्। विदेशी खेलाडी छनोटदेखि स्थानीय प्रतिभालाई अवसर दिनेसम्मको प्रयासले एनपीएलको गुणस्तर उकासेको छ भने भविष्यमा अझै राम्रो तयारी गर्ने चुनौती थपिदिएको छ।

पूर्वाधारमा फड्को 
नेपाली क्रिकेट समर्थकका लागि यो सिजन ऐतिहासिक बन्यो। पहिलो पटक प्यारापिटमा बसेर फ्लडलाइटमुनि क्रिकेट हेर्ने अवसर जुर्‍यो। जुन दर्शकका लागि एकदमै फरक अनुभव हुनपुग्यो।

पूर्वाधार तयार भएकाले दिनको खेलभन्दा रातको खेलमा दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढी देखियो। यसले भविष्यमा नेपाली क्रिकेट कुन दिशातर्फ जान सक्छ भन्ने संकेत पनि दिएको छ। फ्लडलाइट जडानसँगै नेपाली क्रिकेटरले घरेलु मैदानमै रातको समयमा खेल्ने अवसर पाए, जुन उनीहरूको अन्तर्राष्ट्रिय तयारीका लागि पनि महत्त्वपूर्ण हुनेछ।

कीर्तिपुर मैदानमा १० हजार सिट क्षमता रहेको प्यारापिट तयार भएको छ। त्यसमा यो सिजन क्यानले हरेक दिन ९ हजार ४ सय टिकट मात्र बिक्री गरेको थियो। टिकटबाट मात्र क्यानले साढे ८ करोड रुपैयाँ आम्दानी गरेको प्रारम्भिक आकलन छ। 

रातको क्रिकेट सम्भव बनाउन ६ वटा फ्लडलाइट जडान गरिएको छ, जसले एनपीएलको रौनकता बढाएको छ। दोस्रो चरणको निर्माणपछि त्रिवि रंगशाला व्यवस्थापनमा थप मद्दत पुग्नेछ।

प्रतिस्पर्धात्मक क्रिकेट
केही खेल अपवाद मान्ने हो भने एनपीएलमा अधिकांश खेलमा प्रतिस्पर्धात्मक क्रिकेट देखियो। प्रतियोगिता सुरु हुनुअघि बलियो मानिएका केही टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्स लिग चरणमा एक खेल मात्र जित्दै अंक तालिकाको पुछारमै सीमित भयो। यसले फ्रेन्चाइज क्रिकेटमा नामभन्दा तयारी र निरन्तरताको महत्व कति ठूलो हुन्छ भन्ने देखायो।

अर्कोचाहिँ, कमजोर मानिएका टोली मैदानमा बलिया बनेर उभिए। पहिलो सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी लायन्सलाई सुरुवातमा उपाधि दाबेदारका रूपमा कमैले हेरेका थिए। पहिलो खेल जितेपछि लगातार तीन खेल हार व्यहोरे पनि त्यसपछि लुम्बिनी अपराजित यात्रा तय गर्दै उपाधि उचाल्न सफल भयो।

क्वालिफायरसम्म सशक्त प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामा सीमित भयो। विराटनगर किङ्स र काठमाडौं गोर्खाज पहिलो पटक प्ले अफ पुग्न सफल भए।

सन्तुलित टोलीका रूपमा हेरिएका पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्स प्ले अफ पुग्न सकेनन्। यद्यपि फाइनलसहित केही खेल अपेक्षाअनुसार नभए पनि लिग चरणका अधिकांश खेल प्रतिस्पर्धात्मक रहे।

पर्यटन र क्रिकेटको सम्भावना
एनपीएल अब केवल क्रिकेट प्रतियोगिता मात्र रहेन। यसले आर्थिक र पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध गाँस्न थालेको छ। एनपीएल खेल्न नेपाल आउने विदेशी खेलाडीले गर्ने प्रचारले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने सम्भावना देखिएको छ।

खेलपछि खेलाडीहरूले गर्ने भ्रमण, सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर र भिडियोले नेपाललाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने काम गरेको छ। यसैले अब एनपीएललाई खेलका रूपमा मात्र नभई पर्यटन र अर्थतन्त्रसँग जोडेर हेर्ने समय आएको छ।

मार्टिन गुप्टिल, फाफ डु प्लेसिस, मार्चेन्ट डी ल्यांगजस्ता विदेशी खेलाडीले पर्वतीय उडानको मज्जा लिए, पर्यटनलाई क्रिकेटसँग जोड्नसके आर्थिक रुपमा पनि फलदायी हुने सम्भावना देखाए। 

सुधारका पाठ
एनपीएलका केही खेलमा अम्पायरिङलाई लिएर प्रशिक्षक र खेलाडीबाट गुनासो सुनियो। कमजोर अम्पायरिङका कारण खेलको नतिजा र टोलीको मनोबलमा प्रभाव परेको भन्दै केही विदेशी खेलाडीले खुला आलोचना समेत गरे।

यसैको प्रभावस्वरूप एनपीएलको फाइनल खेलमा सबै विदेशी अम्पायर प्रयोग गरिएको थियो। एनपीएलमा ठूलो लगानी गरिरहेको क्यानले

अब अम्पायरिङको गुणस्तरमा विशेष ध्यान दिई यस पक्षलाई अझ मजबुत बनाउन आवश्यक देखिन्छ। यसले अर्को संस्करणमा गर्नुपर्ने सुधारका पक्षलाई पनि उजागर गरिदिएको छ।

फ्रेन्चाइज टोली र फ्यान फलोइङ
फ्रेन्चाइज क्रिकेटको आत्मा भनेकै समर्थक हुन्। मैदानको उत्साह मात्र होइन, समर्थकले दिने हौसला खेलाडीका लागि अतिरिक्त ऊर्जा बन्ने गर्छ। त्यसैले पनि दर्शकलाई १२औं खेलाडीको दर्जा दिइन्छ।

समर्थकको दृष्टिले हेर्दा सुदूरपश्चिम रोयल्सको फ्यान फलोइङ सबैभन्दा बलियो मानिन्छ। सुदूरपश्चिमका खेलहरूमा मैदान प्रायः भरिभराउ हुन्थ्यो। त्यसपछि जनकपुर, विराटनगर, लुम्बिनी र कर्णालीका समर्थक पनि आफ्नो टोलीको खेल हुँदा मैदान पुगेको देखियो ।

चितवन, पोखरा र काठमाडौंका भने औसत समर्थक देखिए। ती टोलीले आगामी सिजनमा फ्यान इन्गेजमेन्टमा थप काम गर्नुपर्ने हुन्छ।

समग्रमा, एनपीएलले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बन्न सक्छ भन्ने सम्भावना मात्र देखाएको छैन। व्यवस्थित योजना, पूर्वाधार र दीर्घकालीन सोच भए नेपालले ठूला प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न सक्छ भन्ने सन्देश पनि दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad