विभागीय टोली एपीएफ फुटबल क्लब घरेलु मैदानमा जारी साफ क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
आइतबार राति भएको खेलमा भारतको इष्ट बंगालले बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० को फराकिलो अन्तरले पराजित गरेसँगै एपीएफ फाइनलमा पुगेको हो।
नसरिनलाई हराएपछि इष्ट बंगाल पनि अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ। च्याम्पियनसिपमा अपराजित रहेको इष्ट बंगाल ३ खेलमा ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ।
आइतबार दिउँसो नै भएको पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसीलाई १–० ले हराएपछि एपीएफ फाइनल नजिक पुगेको थियो।
एपीएफले राउण्ड रोविनको पहिलो खेलमा नसरिनलाई नै ४–० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा भुटानको ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।
च्याम्पियनसिपमा एपीएफले दुई खेलमा जित र एक खेलमा बराबरी गर्दै सात अंकमा अंक तालिकाको दोस्रो स्थानमा रहेर फाइनल खेल्ने पक्का भएको हो।
राउण्ड रोविनको अन्तिम खेलमा बुधबार एपीएफ र इष्ट बंगाल नै भिड्नेछन्। सो खेल यी दुबै टोलीका लागि फाइनलअघिको वार्मअप सरह हुनेछ। फाइनल खेल शनिबार हुनेछ।
इष्ट बंगाल र एपीएफ फाइनलमा पुगेसँगै पाकिस्तानको कराची, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमी उपाधि दौडबाट बाहिरिएका छन्।
Shares

प्रतिक्रिया