सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा नेपालकै तीन बलरले सर्वाधिक विकेट लिएका छन्। विराटनगर किङ्सका सन्दीप लामिछाने, लुम्बिनीका शेर मल्ल र सूदुरपश्चिमका अविनाश बोहराले समान १७ विकेट लिएका हुन्।
यसअघि सन्दीप १७ विकेटसहित शीर्ष स्थानमा थिए। शनिबार फाइनल खेलमा शेरले तीन तथा अविनाशले एक विकेट लिँदै सन्दीपसँग बराबर गरेका हुन्।
शेरले चार ओभरमा १८ रन खर्चिँदै तीन विकेट लिएका हुन्। अविनाशले फाइनलमा एक ओभर मात्रै बलिङ गरे। उनले एक ओभरमा एक रन दिएर एक विकेट लिए।
सन्दीपले नौ खेलमा ३६ ओभर बलिङ गर्दै एक सय ७७ रन मात्रै खर्चिएका छन्। १० खेलमा ३६ ओभर बलिङ गरेका मल्लले दुई सय ३४ रन खर्चिए। अविनाशले नौ खेलमा २६.१ ओभर मात्रै बलिङ गर्दा एक सय ९५ रन खर्चिएर सन्दीप र शेरसँग विकेट बराबरी गरेका हुन्।
सर्वाधिक विकेट लिने नेपाली खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन्। पहिलो सिजनमा जनकपुर बोल्टसका ललितनारायण राजवंशीले जितेका थिए।
गत सिजन पनि सर्वाधिक विकेट १७ नै थियो। ललितले सुदूरपश्चिमका स्कट कुगलिनसँग समान १७ विकेट लिएका थिए। यस पटक भने ललितको टिम समूह चरणबाटै बाहिरियो। उनी पनि खासै चल्न सकेनन्।
Shares

प्रतिक्रिया