खेल


भोलिको खेलमा के गर्ने भनेर एक दिन अगाडि नै सोच्छु : रोहित पौडेल

भोलिको खेलमा के गर्ने भनेर एक दिन अगाडि नै सोच्छु : रोहित पौडेल

नेपालखबर
मंसिर २४, २०८२ बुधबार २२:४, काठमाडौँ

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले भोलिको खेलमा के गर्ने भनेर एक दिन अगाडि नै सोच्ने गरेको बताएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाडौँ याक्सलाई पराजित गर्दै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले खेलको अघिल्लो दिन नै सोच्ने गरेको बताएका हुन्। 

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै पौडेलले भने, ‘एक दिन अगाडि सोचिरहेको हुन्छ, भोलिको खेलमा के के सिनारियो हुनसक्छ। कति वेला कुन बलर युज गर्ने भनेर।’

तैपनि कतिपय निर्णय तत्कालै लिनुपर्ने उनको भनाइ थियो। खेलको अवस्था हेरेर बलिङ गर्न लगाउने र आफू पनि गर्ने गरेको उनले बताए। ‘एक दिन अगाडि सोच्ने गरे पनि ग्राउन्डमा को आउट हुन्छ थाहा हुँदैन। त्यही परिस्थिति अनुसार निर्णय लिनुपर्छ। त्यो वेला म उपयुक्त हुनसक्छु भन्ने लागेको वेला बलिङ गरेको छु।’

काठमाडौँविरुद्धको खेलमा बुधबार रोहितले तीन विकेट लिएको थिए। उनले चार ओभर बलिङ गर्दा २५ रन मात्रै खर्चेका थिए। 

आजको खेलमा पनि पहिले बलिङ गर्ने योजना रहेको उनले बताए। ‘हाम्रो योजना पहिले बलिङ गर्ने नै थियो। ड्राइ थियो। अन्डर लाइट बल घुम्दैन कि जस्तो लागेको थियो,’ उनले भने। काठमाडौँले टस जितेर ब्याटिङ गरेपछि लुम्बिनीले बलिङ गर्ने मौका पाएको थियो। 

शेर मल्लबारे सोधिएको प्रश्नमा पनि उनले प्रशंसा गरे। ‘शेर एकदमै इम्पोटेन्ट पार्ट हो हाम्रा लागि। जति वेला पनि विकेट निकालिरहेको छ,’ उनले भने। शेरले आज तीन विकेट लिएका थिए। 

भोलिको खेलमा प्रेसर नलिएको उनको भनाइ थियो। ‘भोलिको खेल नक आउट हो, त्यसैले दुवै टिमलाई बराबरी नै प्रेसर हुन्छ,’ उनले भने, ‘हाम्रा लागि पछिल्ला चार वटै खेल नक आउट  थिए। एउटा पनि हार्दा बाहिरिन्थ्यौं।’

नक आउट खेलमा जसले प्रेसरलाई झेल्न सक्यो, उसैलाई सहज हुने उनको भनाइ थियो। ‘भोलि कसले राम्रो क्रिकेट खेल्छ र प्रेसर कसले राम्रो अब्जर्भ गर्छ, त्यो महत्त्वपूर्ण हुन्छ,’ उनले भने। 

बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दै छन्। जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ। 

यी पनि पढ्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad