खेल


काठमाडौँलाई हराउँदै लुम्बिनी क्वालिफायरमा

काठमाडौँलाई हराउँदै लुम्बिनी क्वालिफायरमा

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर २४, २०८२ बुधबार १९:१९, काठमाडौँ

काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।

बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीसँग चार विकेटको हार भोग्दै काठमाडौँ एलिमिनेटरबाट बाहिरिएको हो। काठमाडौँले दिएको एक सय १२ रनको झिनो लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेटटयो। 

अघिल्लो सिजन नेट रनरेटमा पछि पर्दै प्लेअफ दौडबाट नै बाहिरिएको काठमाडौँ यो पटक तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेलेको थियो। 
लुम्बिनीविरुद्ध काठमाडौँका ब्याटर लामो समय क्रिजमा चल्न सकेनन्।

टस जितेर ब्याटिङ गर्ने काठमाडौँको निर्णय आजको खेलमा सही सावित हुन सकेन। एक सय १२ रनको लक्ष्य दिएको काठमाडौँले दोस्रो इनिङ्समा पनि उत्कृष्ट फिल्डिङ गर्न सकेन। 

सहज लक्ष्य पाएको लुम्बिनीले खेललाई आरामदायी तरिकाले अघि बढायो। काठमाडौँले रन रोक्न नसक्दा एलिमिनेटरबाटै बाहिरिन बाध्य भयो। 

लुम्बिनीविरुद्ध काठमाडौँको शीर्षक्रम चल्न नसक्नु पनि हारको अर्को मुख्य कारण बन्न पुग्यो। पावर प्लेमा नै ६ विकेट गुमाएपछि दबाबमा आएको काठमाडौँले त्यसपछि लयमा फर्काउन सकेन। 

सन्तोष यादवले सर्वाधिक २३ रन बनाउँदै काठमाडौँको इनिङ्स सम्हाल्ने प्रयास गरे पनि रनआउट हुन पुगे। लगातार विकेट पतनसँगै दबाबमा आएको काठमाडौँले दोस्रो इनिङ्समा पनि लुम्बिनीलाई रोक्न सकेन। 

लुम्बिनीले अब दोस्रो क्वालिफायरमा विराटनगर किंग्सको सामना गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेल्न लागेको हो। 

एनपीएलमा खराब सुरुवात गरेको लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो। दोस्रो क्वालिफायरमा स्थान बनाएसँगै लुम्बिनीले एनपीएलका पछिल्ला चार खेलमा लगातार जित निकालेको हो। 

अघिल्लो सिजन अंक तालिकाको पुछारमा रहँदै एनपीएल यात्रा सकाएको लुम्बिनी यो सिजन उपाधि नजिक पुगेको छ। लुम्बिनीले लिग चरणको आफ्नो अन्तिम खेलमा आएर प्लेअफमा स्थान पक्का गरेको थियो। 

लिग चरणको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सिजनको सुखद सुरुवात गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लागातार हार व्यहोरेपछि प्लेअफ सम्भावना कठिन बनेको थियो। तर पछिल्ला तीन खेलमा जित निकाल्दै लुम्बिनीले प्लेअफमा स्थान बनाएको थियो। 

लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग नौ विकेटले तथा काठमाडौँ गोर्खाजसँग २२ रनले पराजित भएको थियो। 


चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग सात विकेटले पराजित भएपछि पाचौँ खेलमा पोखरालाई तीन विकेटले हराएको थियो। छैटौँ खेलमा विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै प्लेअफ दौड बलियो बनाएको थियो। 

लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुरलाई हराउँदै लुम्बिनी पहिलो पटक प्लेअफमा पुग्न सफल भएको थियो। एलिमिनेटरमा बुधबार काठमाडौँलाई हराएपछि लुम्बिनीले दोस्रो वालिफायरसम्मको यात्रा तय गर्न सफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad