खेल


सुदूरपश्चिमको अपराजित यात्रालाई रोक्दै विराटनगर पहिलो क्वालिफायरमा

सुदूरपश्चिमको अपराजित यात्रालाई रोक्दै विराटनगर पहिलो क्वालिफायरमा

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर २०, २०८२ शनिबार १४:२, काठमाडौँ

शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ। 

शनिबार भएको पहिलो खेलमा विराटनगरसँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको हो। लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा आएर हार भोगेको छ। 

सुदूरपश्चिमलाई ११.५ ओभरमा हराएपछि दोस्रो स्थानमा उक्लेको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर साम हेजलेट र फाफ डु प्लेसिसले ७.१ ओभरमा ९७ रनको साझेदारी गरेपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो। २० बलमा पाँच चौका र चार छक्का प्रहार गरेका फाफ ५० रन बनाउँदा अविनास बोहराको बलमा बोल्ड आउट भए। 

२७ बलमा तीन चौका र चार छक्का प्रहार गरेका साम ५१ रन बनाउँदा हरमित सिहंको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। विराटनगरले पावर प्लेमा विना विकेटको क्षति ८७ रन बनाएको थियो। जारी एनपीएलमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो।

मार्टिन गप्टिल २२ रनमा रनआउट भए। बसिर अहमद आठ रनमा क्याच आउट भए। प्रतिश जिसी तीन बलमा दुई छक्काको सहयोगमा १३ रनमा र लोकेश बम तीन रनमा नटआउट रहे।

सुदूरपश्चिमका लागि अविनास बोहराले दुई विकेट लिए। हरमित सिंहको नाममा एक विकेट रह्यो।

विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिम १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेर यसअघि नै पहिलो क्वालिफायरमा पुगिसकेको छ।

सुदूरपश्चिमलाई पराजित गरेपछि दोस्रो स्थानमा उक्लेको विराटनगर १० अंकसहित पहिलो क्वालिफायर खेल्नेछ। विराटनगर र काठमाडौँको समान १० अंक भए पनि नेट रनरेटमा अघि रहँदै विराटनगर दोस्रो स्थानमा उक्लेको हो। 

यो खेलसँगै पहिलो क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लागेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर नै भिड्नेछन्। पहिलो क्वालिफायर खेल मंगलबार हुनेछ। 

यो खेलमा जित निकाल्ने टोलीले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले फाइनल पुग्न थप एक मौका पाउनेछ। पराजित टोलीले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। 

एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन्। एलिमिनेटर खेल बुधबार हुनेछ। एलिमिनेटर खेलमा पराजित हुने टोली एनपीएलबाटै बाहिरिनेछ। जित निकाल्ने टोलीले फाइनल खेल्न दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ। त्यस्तै उपाधि भिडन्त आगामी शनिबार हुनेछ। 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा एक सय ४७ रनको योगफल तयार पारेको थियो। सुदूरपश्चिमका लागि आशिफ शेखले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे। 

इशान पाण्डेले ३८ रन थपे। ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मर्चेन्ट डि लाङगेको हातबाट क्याच आउट हुन पुगे। २५ बलमा एक चौका र दुई छक्काको सहयोगमा २४ रन बनाएका जस ब्राउन सन्दीप कै बलमा क्याच आउट भए। 

ओपनर विनोद भण्डारी १५ रन बनाउँदा बसिर अहमदको बलमा बोल्ड आउट भए। हरमित सिंह गोल्डेन डकआउट भए। दिपक बोहरा तीन रन बनाउँदा प्रतिश जिसीको बलमा बोल्ड आउट भए। 

विराटनगरका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा २० रन मात्रै खर्चे। प्रतिश जिसीले दुई विकेट झारे। बसिर अहमदले एक विकेट आफ्नो नाममा गरे। 

आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोज भिड्नेछन्। प्लेअफबाट बाहिरिसकेका दुवै टोलीका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad