खेल


च्याम्पियन जनकपुरको निराशाजनक यात्रा

च्याम्पियन जनकपुरको निराशाजनक यात्रा

तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर १९, २०८२ शुक्रबार १९:४८, काठमाडौँ

साविक विजेता जनकपुर बोल्ट्स दोस्रो सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ‘प्लेअफ’बाटै बाहिरिएको छ। 

अघिल्लो सिजन दुई खेलमा मात्र हार भोगेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एक खेलमा मात्र जित निकालेको थियो। लगातार चार खेलमा हार भोग्दै खराब सुरुवात गरेको जनकपुरले पाचौँ खेलमा आएर जित हात पारेको थियो।

च्याम्पियन जनकपुरलाई दोस्रो सिजनमा पनि उपाधि दाबेदारको रुपमा हेरिएको थियो। तर खेल सुरु भएसँगै जनकपुरको कमजोर प्रदर्शनका कारण एक खेल अगावै ‘प्लेअफ’ दौडबाट नै बाहिरियो। 

अघिल्लो सिजन उपाधि उचालेको जनकपुर यो पटक अंक तालिकाको पुछारमा छ। लगातार खराब प्रर्दशनसँगै जनकपुरले टोलीमा तीन कप्तान परिवर्तन गरेको थियो। एनपीएलको पहिलो सिजनमा सबै फ्रेन्चाइज टोलीले मार्की खेलाडीलाई कप्तानी जिम्मेवारी दिँदा जनकपुरले अनिल साहलाई कप्तान बनाएको थियो। 

यो पटक पनि अनिलकै कप्तानीमा मैदान उत्रेको जनकपुरले लिग चरणको चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कप्तान परिवर्तन गरेको थियो। जनकपुरले कप्तान साहलाई बेन्चमा राख्दै वायने पर्नेललाई कप्तानको जिम्मेवारी दिएको थियो। 

प्लेअफ दौडबाट बाहिरिएपछि जनकपुरका कप्तान लफ्टी इटोनले यो सिजन सोचेजस्तो नभएको बताएका छन्। उनले भने, ‘यो सिजन सोचेजस्तो हुन सकेन तर अन्तिम खेल प्रतिष्ठाका लागि र आफ्नो समर्थकका लागि खेल्नेछौँ।’ 

छैटौँ खेलमा पर्नेललाई बेन्चमा राख्दै जान निकोल लफ्टी इटोनलाई कप्तानीको भूमिका दिएको थियो। एनपीएलमा एक खेलमा जित निकाल्दा तीन कप्तान परिवर्तन गर्ने जनकपुर एक्लो टोली हो। 

दोस्रो सिजनको सुरुवातदेखि नै च्याम्पियन छविलाई कायम राख्न नसकेको जनकपुरले पाँच खेलमा हार र एक खेलमा मात्र जित निकालेको छ। 

लिग चरणको पहिलो खेलमा जनकपुर काठमाडौँसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगरसँग नौ रनले र तेस्रो खेलमा पोखरासँग २५ रनले पराजित भएको थियो। सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको जनकपुरले लिग चरणको पाचौँ खेलमा चितवनलाई ६ विकेटले हराएको थियो। 

छैटौँ खेलमा लुम्बिनीसँग चार विकेटले पराजित भएपछि च्याम्पियन जनकपुरको लिग चरणबाटै यात्रा सकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad