पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै भियतनाममा सञ्चालन हुने यूटीआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
यही मंसिर २२ देखि २८ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा २३ वर्षीय बास्तोलाले प्रतिस्पर्धा गर्ने भएका हुन्। उनी अमेरिकामा अध्ययनरत छन्।
बास्तोला अन्तरराष्ट्रिय टेनिस महासंघ (आईटीएफ)को विश्व वरीयताका खेलाडी हुन्।
पोखरामा बुधबार आयोजित कार्यक्रममा उनले तयारी राम्रो रहेकाले भियतनाममा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। बास्तोलाका अनुसार यूटीआर रेटिङ १ देखि १६ भित्रका खेलाडीबीच प्रतिस्पर्धा हुन्छ।
‘यूटीआर टेनिस प्रोमा विश्वका तीन हजार वरियताभित्रका खेलाडी आमन्त्रण गरिन्छ। यसभित्रको खेलाडी मात्र खेल्न मिल्छ। चाहना भएर मात्र हुँदैन तोकिएको र्याङ्किङ हुनुपर्यो। यो प्रतियोगिता खेल्ने म एक्लो नेपाली खेलाडी हुँ’, उनले भने।
पोखराबाट ८ वर्षको उमेरमा टेनिस खेल जीवन सुरु गरेका बास्तोलाले १३ वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेका छन्। हालसम्म उनले २२ राष्ट्रमा प्रतिस्पर्धा गरिसकेका छन्।
Shares

प्रतिक्रिया