सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहराले आफ्नो टोली उपाधि जित्नका लागि तयार रहेको बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार साविक विजेता जनकपुर बोल्टसलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा पुगेको छ। जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले चार विकेट गुमारए १७.४ ओभरमा सजिलै पूरा गरेको हो।
जनकपुरलाई औषत स्कोरमा समेट्न अविनाशले महत्त्वपूर्ण भूमिका खेले। उनले चार ओभरमा ३० रन खर्चेर चार विकेट लिए।
खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गत सिजनमा ब्यहोरेको हारलाई बिर्साउने गरी यस पटक उपाधि जित्ने लक्ष्यसहित खेलिरहेको बताए। उनले भने, ‘सुदूरपश्चिम उपाधि जित्नका लागि तयार छ।’
उपाधि जित्नका लागि नेपाली खेलाडीको प्रदर्शन राम्रो हुनुपर्ने उनको भनाइ थियो। अहिले सुदूरपश्चिमको टोलीमा विदेशीसँगै नेपाली खेलाडीले राम्रो गरिरहेको उनको ठम्याइ थियो। ‘हाम्रो टोलीको माहोल राम्रो छ। हामी सुरुदेखि नै भन्दै छौं विदेशीभन्दा पनि नेपाली खेलाडीले राम्रो गर्नुपर्छ, अनि मात्रै प्रतियोगिता जित्छौं,’ अविनाशले भने।
व्यक्तिगत प्रदर्शनलाई लिएर गरिएको प्रश्नमा पनि उनले खुशी जनाए। ‘अहिलेसम्म टोलीले एउटै पनि खेल हारेको छैन। यसमा एकदमै गौरव महसूस भएको छ,’ अविनाशले थपे, ‘टोलीले मलाई जुन भूमिका दिएको छ, त्यसअनुसार राम्रो गर्न सकेको छु। मेरो भूमिकामा खुशी नै छु।’
जारी एनपीएलमा उनी सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका छन्। उनले अहिलेसम्म ११ विकेट लिएका छन्। दोस्रो नम्बरमा रहेका विराटनगर किंग्सका सन्दीप लामिछानेले १० र तेस्रो नम्बरमा रहेका काठमाडौं गोर्खाजका मिलिन्द कुमारले नौ विकेट लिएका छन्।
सुदूरपश्चिमका दुई खेल बाँकी छन्। अबका दुवै खेल जित्ने लक्ष्य रहने अविनाशको भनाइ छ। ‘अब दुई वटा राम्रो टिमसँग खेल्नुपर्नेछ, त्यसमा पनि राम्रो गर्नेछौं,’ उनले भने।
सुदूरपश्चिमले मंसिर १८ गते बिहीबार चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, लिग चरणको अन्तिम खेलमा मंसिर २० गते शनिबार विराटनगर किंग्ससँग भिड्नेछ।
यो पनि पढ्नुहोस् : च्याम्पियन जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
Shares

प्रतिक्रिया