साविक विजेता जनकपुर बोल्टसका कप्तान अनिल साहले अहिलेसम्म ब्याटिङ नचल्दा जित्न नसकिएको बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरले लगातार तीन खेल हारेको छ। बिहीबारको तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग जनकपुरलाई २५ रनले पराजित भएको छ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै साहले हरेक खेलका लागि नयाँ योजना बनाए पनि प्रभावकारी हुन नसकेकाे बताए। ‘सुरुदेखि नै ब्याटिङ चलेको छैन। त्यसैले हरेक खेलमा फरक फरक योजना त बनाइरहेका छौं, तर काम गरिराखेको छैन,’ उनले भने।
अहिलेसम्म खेलेका तीनै खेलमा सुरुवात राम्रो हुन नसकेको उनको भनाइ थियो। ‘विशेष गरी टप अर्डरबाट जुन स्टार्ट पाउनुपर्ने हो, त्यसअनुसार भइरहेको छैन,’ अनिलले भने।
अझै पनि जनकपुरलाई खेलमा फर्किने सम्भावना रहेको उनले बताए। ‘गत वर्ष पाँच खेल जितेर प्लेअफमा आएका थियौं। यो पटक पनि चार खेल बाँकी छ, अझै आउनसक्छौं,’ उनले भने।
शीर्ष दुई स्थानमा पुग्ने सम्भावना सकिएको भए पनि शीर्ष चारभित्र पर्नसक्ने सम्भावना जिवितै रहेको उनको भनाइ थियो। ‘अहिले हामी एक खेलका लागि सोचिराखेका छौं। जितको सुरुवात गर्नै बाँकी छ,’ अनिलले भने, ‘टप टुमा त सम्भव छैन, अब टप फोरमा आउन सक्छौं।’
यो पनि पढ्नुहोस् : साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित
Shares

प्रतिक्रिया