खेल


सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा फेरि पराजित

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा फेरि पराजित

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १९:५५, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ज गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेटको क्षतिमा १७५ रन बनायो। 

पोखराले लगातार दोस्रो हार व्यहोरेको दिन सुदूरपश्चिमले भने एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको हो। यो जितसँगै चार अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पोखरा भने अंक तालिकाको पुछारमा झरेको छ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले बनाएको ५३ रन नै सर्वाधिक रह्यो। ३२ बलमा चार चौका र चार छक्काको सहयोगमा ५३ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा बोल्डआउट भए। 

त्यस्तै, २५ बलमा दुई चौका र पाँच छक्का सहयोगमा ४७ रन बनाएका जिम्मी निसम पनि दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए। डान डाउथवेटले ३७ रन थपे। उनले १६ बलमा एक चौका र पाँच छक्का प्रहार गरे। पोखराका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। 

सुदूरपश्चिमका हरमित सिंहले दुई विकेट लिए। उनले आफ्नो स्पेलमा २२ रन दिए। स्कट कुग्लेजिन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अविनास बोहरा र नरेन साउँदले एक-एक विकेट लिए। 

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ९३ रनको योगफल तयार पारेको थियो। पहिलो विकेटका लागि ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीले १०.४ ओभरमा एक सय आठ रनको साझेदारी गरेका थिए। 

जस ब्राउनले ३५ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ६८ रन बनाउँदा जिम्मी निसमको बलमा किरण ठगुन्नाको हातबाट क्याच आउट भए। अर्का ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौका सहयोगमा ४३ रन बनाउँदा आकाश चन्दको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट नै हुन पुगे। 

१३ बलमा चार चौका र दुई छक्का सहयोगमा ३१ रन बनाउँदा क्रिस लिन भने जिम्मी निसमको बलमा अविशेक तिवारीको हातबाट क्याच आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी १५, स्कट कुग्लेजिन आठ र हरमित सिंहले चार रन बनाए। 

त्यस्तै, आरिफ शेख शून्यमा आउट भए।  इशान पाण्डे ६ र नरेन साउँद चार रनमा अविजित रहे।

पोखराका लागि जिम्मी निसमले तीन विकेट लिए। डान डाउथवेट र आकाश चन्दले दुई-दुई विकेट लिए।

एनपीएलमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad