खेल


काठमाडौँसँग भिड्दा उपाधिनजिकको साबिक चोट बिर्सिन चाहन्छ सुदूरपश्चिम

काठमाडौँसँग भिड्दा उपाधिनजिकको साबिक चोट बिर्सिन चाहन्छ सुदूरपश्चिम

नेपालखबर
मंसिर ३, २०८२ बुधबार ६:५८, काठमाडौँ

गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स बुधबार काठमाडौं गोर्खाजविरुद्ध खेल्दै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को सुरुवात गर्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेपछि सुरु हुने खेलमा काठमाडौं भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। 

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि ५ विकेटको फराकिलो जित निकालेको काठमाडौँ लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानलाई थप बलियो बनाउन चाहन्छ। पहिलो खेलमा जित निकालेसँगै काठमाडौ अंक तालिकाको शीर्ष स्थानमा छ। 

विदेशी खेलाडीको बलियो बनेको काठमाडौं यो पटक उपाधि जित्ने रणनीतिमा मैदानमा उत्रिरहेको छ। 

जनकपुरविरुद्धको पहिलो खेलमा मिलिन्द कुमार एक्लैले काठमाडौंका लागि तीन विकेट लिएका थिए। ब्याटिङतर्फ उनले १९ रनको योगदान दिएका थिए। त्यसमाथि राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाइको प्रशिक्षणमा रहेको काठमाडौँ यो पटक सुरुवातबाट नै उच्च मनोबलमा छ। 

नेपाली खेलाडीको सबल र दुर्वल दुबै पक्षबारे राम्रो जानकार रहेका मोन्टी सोहीअनुसार रणनीति बनाउँदै छन्। काठमाडौंको कप्तानी करण केसीले गर्नेछन्। 

यता अघिल्लो सिजन उपाधिनजिक पुगेर पनि टाढिएको सुदूरपश्चिम यो पटक उपाधि जित्ने योजनामा छ। उमेर समूह र सिनियर टोलीका सफल प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा ऊ छ। सुदूरपश्चिमले यो सिजन क्रिस लिन, जोश ब्राउन, स्कट कुगेलिन, हर्मित सिंह र ध्रुव पराशर गरी पाँच जना विदेशी खेलाडी मात्र अनुबन्ध गरेको छ। 

स्थानीय खेलाडीको साथमा मैदानमा उच्च प्रदर्शन गर्ने योजनामा सुदूरपश्चिम छ। सुदूरपश्चिमको कप्तानी राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। 

एनपीएलको तीन खेल सकिँदा विदेशी खेलाडीको प्रदर्शन सन्तुलित छ। यस्तोमा उसले आफ्नो सन्तुलनलाई कायम राख्दै च्याम्पियन बन्ने छविलाई कसरी सुरुवात गर्छ त्यो भने आज हेर्न बाँकी नै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad