यूएईमा यही मङ्सिर ५ गते (नोभेम्बर २१) देखि सुरु हुन लागेको एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गरे। उनले नेपाली खेलाडी कुनै पनि देशका खेलाडीभन्दा कमजोर नरहेको उल्लेख गर्दै प्रतियोगितामा उत्कृष्ट नतिजा आउने विश्वास प्रकट गरे।
अध्यक्ष चन्दले नेपाली क्रिकेटको भविष्य यिनै उदाउँदा युवा प्रतिभाहरूकै काँधमा रहेकाले समर्थन र सहयोगका लागि क्यान सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
नेपाली यू–१९ टोलीका कप्तान अशोक धामीले टोलीका सबै खेलाडीले लामो समयदेखि कडा परिश्रम, अनुशासन र समर्पणसहित प्रतियोगिताको तयारी गरेको बताउँदै एसीसी यु–१९ प्रिमियर कप जित्ने लक्ष्यसहित यूएई प्रस्थान गर्न लागेको बताए।
नेपाल क्रिकेट सङ्घका अनुसार उक्त प्रतियोगितामा सहभागी हुनका लागि १४ जना खेलाडीको बिदाइ गरिएको हो। रासस
Shares

प्रतिक्रिया