नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले नेपाली राजनीतिमा यो महिना र आगामी निर्वाचनसम्म अझ ठूला दुर्घटना हुने दाबी गरेका छन्।
यस क्रममा उनले केपी शर्मा ओलीले नेकपा एमालेको जहाजलाई ठूलो दुर्घटनातर्फ लगिरहेको आरोप पनि लगाएका छन्।
'नेताका सत्ता-स्वार्थले कब्जा गरेको हाम्रो वामपन्थी आन्दोलन संकटग्रस्त छँदै छ। भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसमार्फत समाजले दिएको धेरै शक्तिशाली सन्देश नसुनेझैँ गरेर सबै नेताहरूले बालुवामा टाउको घुसारेका छन्। यो महिना र आगामी निर्वाचनसम्म अझ ठूला दुर्घटना हुनेछन्', भुसालले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्', 'कमरेड ओलीले नेकपा एमालेको जहाजलाई भयानक दुर्घटनातिर लैजाँदै छन्। आत्मप्रसंशा, असहिष्णुता, उद्दण्डता, पपुलिजम, मूल्यहीनताबाट यिनले जति अर्को कुनै व्यक्तिले नेपालको राजनीतिक संस्कृतिलाई प्रदूषित गरेको थिएन। कमरेड ओलीले आफ्नो जीवनमा अब गर्न बाँकी रहेको एउटा मुख्य काम नेकपा एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो। सम्भवतः आगामी महाधिवेशनमा त्यो कर्म सम्पन्न गर्नेछन्।'
त्यसो त भुसालले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको पनि आलोचना गरेका छन्।
'विचार र मुद्दा सकिएका र अस्तित्व रक्षाले लखेटिएका ‘ठूला नेता’ जम्मा गरेर कमरेड प्रचण्डले ‘नेपाली कम्युनिस्ट पार्टी’का नाममा कचिङ्गलको कचहरी बनाएका छन्। ती कसैसँग पनि विचारको शृंखला छैन। हरेकका मुद्दा, उद्देश्य र प्राथमिकता फरक छन्। समाजवाद कसरी आउँछ? वाम आन्दोलनको कार्यभार के हो? क्रान्तिकारी पार्टी कसरी बन्छ? कुन सन्धी/सम्झौता नेपालको हित/अहितमा छन् जस्ता विषय अगाडि राख्ने हो भने ती सबैको सबैसँग सार्वजनिक झगडा त्यसै क्षण सुरु भैहाल्छ। वस्तुतः विचार र मुद्दामा चुपचाप बस्नु नै त्यस पार्टीको शक्ति हो। कमरेड प्रचण्डले त्यो बुझेका छन्', भुसालले भनेका छन्, 'त्यसैले त्यस्ता विषयमा कुनै पनि बैठकमा छलफल हुन दिने छैनन्। ‘विचार र मुद्दा चुनावपछि’ भनेर स्थगित गरिने छ। ती सबैका पद, हैसियत, मुद्दा र स्वार्थलाई ‘ठिक छ, ठिक छ’ भनेर कमरेड प्रचण्डले थामथुम पारिरहने छन्।'
यस्तो छ उनको पूरा भनाइ :
आउनुहोस साथी, छलफल गरौँ!!!
नेताका सत्ता-स्वार्थले कब्जा गरेको हाम्रो वामपन्थी आन्दोलन सङ्कटग्रस्त छँदै"छ। भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसमार्फत समाजले दिएको धेरै शक्तिशाली सन्देश नसुनेझैँ गरेर सबै नेताहरूले बालुवामा टाउको घुसारेका छन्। यो महिना र आगामी निर्वाचनसम्म अझ ठूला दुर्घटना हुनेछन्। कमरेड ओलीले नेकपा एमालेको जहाजलाई भयानक दुर्घटनातिर लैजाँदै छन्। आत्मप्रसंशा, असहिष्णुता, उद्दण्डता, पपुलिजम, मूल्यहीनताबाट यिनले जति अर्को कुनै व्यक्तिले नेपालको राजनीतिक संस्कृतिलाई प्रदूषित गरेको थिएन। कमरेड ओलीले आफ्नो जीवनमा अब गर्न बाँकी रहेको एउटा मुख्य काम नेकपा एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो। सम्भवतः आगामी महाधिवेशनमा त्यो कर्म सम्पन्न गर्नेछन्। कमरेड ओलीलाई त्यसमा ग्लानी हुने छैन, बरु आफ्नो ‘सामर्थ्य’मा अभिमान नै हुनेछ। त्यसबाट हुने क्षति मुलुकले पनि बेहोर्नै पर्नेछ। कमरेड ओलीको दिशा र दशा दुनियाँले थाहा पाइसकेको हुँदा भन्नुपर्ने कुरा कम छन्, बरु देख्नुपर्ने घटना केही बाँकी छन्।
विचार र मुद्दा सकिएका र अस्तित्व रक्षाले लखेटिएका ‘ठूला नेता’ जम्मा गरेर कमरेड प्रचण्डले ‘नेपाली कम्युनिस्ट पार्टी’का नाममा कचिङ्गलको कचहरी बनाएका छन्। ती कसैसँग पनि विचारको श्रृङ्खला छैन। हरेकका मुद्दा, उद्देश्य र प्राथमिकता फरक छन्। समाजवाद कसरी आउँछ? वाम आन्दोलनको कार्यभार के हो? क्रान्तिकारी पार्टी कसरी बन्छ? कुन सन्धी/सम्झौता नेपालको हित/अहितमा छन् जस्ता विषय अगाडि राख्ने हो भने ती सबैको सबैसँग सार्वजनिक झगडा त्यसै क्षण सुरु भैहाल्छ। वस्तुतः विचार र मुद्दामा चुपचाप बस्नु नै त्यस पार्टीको शक्ति हो। कमरेड प्रचण्डले त्यो बुझेका छन् । त्यसैले त्यस्ता विषयमा कुनै पनि बैठकमा छलफल हुन दिने छैनन्। ‘विचार र मुद्दा चुनावपछि’ भनेर स्थगित गरिने छ। ती सबैका पद, हैसियत, मुद्दा र स्वार्थलाई ‘ठिक छ, ठिक छ’ भनेर कमरेड प्रचण्डले थामथुम पारिरहने छन्।
‘छ महिनामा महाधिवेशन गर्छौँ, त्यसपछि कार्यकारी पदमा रहन्नौँ’ भन्ने वाक्य यिनीहरूको प्रचारको सबैभन्दा मुख्य मुद्दा हो, विचार हो, सिद्धान्त हो, मार्क्सवाद-लेनिनवाद हो। तर सत्ता बाहिर बाँच्नै नसक्ने प्राणीका रूपमा यिनीहरू इतिहासमा अमर भैसकेका छन्। कमरेड ओलीले झैँ, यिनीहरूले पनि गर्न बाँकी रहेको काम अझ एकपटक मतदातालाई झुक्याउनु हो। अर्कोतर्फ, यिनीहरूले छोडिहाले भने कसले बाजी मार्ने हो भनेर कम्तीमा एक दर्जन ‘उत्तराधिकारीहररू’ तँछाडमछाडमा लागिसकेका छन्। राजनीतिले निर्देशित नगरेपछि हुने त्यस्तै हो।
करिब २५०० जना केन्द्रीय नेताहरू भएको नेपाली कम्युनिस्ट पार्टीका बैठक र सन्देश सभामा उद्घोषकले वक्ताहरूको क्रान्तिकारीता, वीरता, दृढताको आरती उतार्ने छन्, लाइन लागेर तिनीहरूले केपी ओलीका बदमासीका घटनाको कैरन सुनाउने छन्, दर्जन बढी पार्टीको नाम सुनाएर एकताको महानता बताइने छ, एकले अर्कोको महानताको वा आफैँले आफ्नो योगदानको प्रवचन सुनाउने छन्। भविष्यको बाटो देखाइने छैन, इतिहासको बखान गरिने छ, आन्दोलनको कुरा हुने छैन, व्यक्तिको प्रसस्ती गाइने छ। तर समाजको त कुरै छोडौँ, कार्यकर्तामा पनि विश्वास भर्न नसकेको तिनको लघुताभाष उदाङ्गो हुँदै जानेछ।
यसरी एउटा वामपन्थी राजनीतिक पार्टीका रूपमा त्यसले गति लिने छैन। चलाखीमा प्रवीण कमरेड प्रचण्डले यस्तो बेला अर्को क्रमभङ्ग खोज्न सक्छन्। स्वार्थको रोटीभाग मिलाउन सके भने कमरेड प्रचण्ड र ओली मिलेर फेरि ‘महान् एकता’को दु:खान्त प्रहसन गर्न सक्छन्।
क्रान्तिकारीहरूका लागि यो असाधारण चिन्ता र चुनौतीको परिस्थिति हो। वर्तमानभन्दा भविष्य डरलाग्दो देखिएको समय हो। तर तथाकथित महान् नेताहरूका सबै प्रयोगहरू असफल भएर तिनका नालायकीका सबै पर्दाहरू च्यातिएको बेला पनि हो यो।क्रान्तिकारीहरूका लागि मैदान खाली भएको बेला पनि हो।
चौतर्फी निराशा, उकुसमुकुस र पलायनको यो बेला मुलुकका रूपान्तरणकारी मुद्दाका साथ लोकतान्त्रिक पार्टी निर्माणको नयाँ पहलकदमीले देशभरिका क्रान्तिकारीहरूलाई एउटा नयाँ बाटो दिन्छ। मुलुकको समृद्धि र समाजवादी कार्यक्रमको आधारमा बृहत् वाम एकताको ढोका खुल्छ।
नालायकी लुकाउने ठाउँ नपाएका, राष्ट्रिय हितका विषयमा कैयन् पटक आत्मसमर्पण गरेका, चाकरीबाट प्राप्त वरिष्ठताका फुलीको भारीले थिचिएका, निर्वाचनमा आफ्नो कोटा सुरक्षित देखेका, राजनीतिबाट सात पुस्ताका लागि मनग्गे कमाइसकेकाहरूले यस्तो पहलकदमीलाई केही समय मजाक उडाउने छन्।
तर वैज्ञानिक विचार र एजेन्डासहित मैदानमा उत्रेपछि सानो समूहले पनि राजनीतिको भाष्य बदल्न सक्छन् भन्ने कुरा हामीले प्रमाणित गरिसकेका छौँ।
विचारका मूलभूत प्रश्नमा हाम्रा अगाडि कुनै चुनौती छैन। सङ्गठनका प्रश्नमा अझै केही समस्या छन्। पार्टी सङ्गठन भनेको कारोबारीहरूको गठबन्धन हो भन्ने प्रचार स्थापित भएको राजनीतिमा हामीले क्रान्तिकारी पार्टी राजनीतिक नै हुन्छ भन्ने स्थापित गर्नु पर्नेछ। आज जीवित रहेको हाम्रो पुस्ताले यत्ति काम गर्न सक्यो भने हाम्रो आन्दोलनकै इतिहासमा ठूलो योगदान हुने छ। आउनुस् साथी, छलफल गरौँ!!!
-मंसिर २, २०८२
Shares

प्रतिक्रिया