खेल


एनपीएलमा यसपालि विश्वकपदेखि आईपीएलसम्म तहल्का मच्चाएका खेलाडी

एनपीएलमा यसपालि विश्वकपदेखि आईपीएलसम्म तहल्का मच्चाएका खेलाडी

लक्ष्मी जि.सी
कात्तिक २९, २०८२ शनिबार १४:११, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्धनलाई अन्तिम रूप दिएका छन्।

एनपीएलमा सहभागी टोलीहरू विश्व क्रिकेटमा नाम चलेका खेलाडीलाई अनुबन्ध गर्दै दोस्रो सिजनलाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने कोसिसमा छन्। एनपीएलको मिति नजिकिँदै गर्दा विदेशी खेलाडी आउने क्रम जारी छ। 

एनपीएलको दोस्रो सिजनमा विश्व क्रिकेटमा तहल्का मच्चाएका देखि इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि उचालिसकेका खेलाडीले कीर्तिपुरको मैदानमा जादु देखाउनेछन्। नाम चलेका विदेशी खेलाडीको आमगनले नेपाली क्रिकेट समर्थकमा पनि उत्साहको सञ्चार भएको छ। 

एनपीएलमा सहभागी विदेशी खेलाडीमध्ये विश्वकपदेखि आईपीएलसम्म आफ्नो जादु देखाएका केही खेलाडीको चर्चा यहाँ गरिएको छ।

नाम चलेका विदेशी खेलाडी अनुबन्ध गर्नेमा विराटनगर किंग्स अन्य टोलीभन्दा केही अघि देखिएको छ। 

विराटनगरले न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्सन्ट डे लाङ्गा, ब्याटर फाफ डु प्लेसी, स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मन्जी र अस्ट्रेलियाका साम हाजलेटलाई अनुबन्ध गर्दै टोली बलियो बनाएको छ। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यो पटक उपाधि जित्ने लक्ष्यमा छ। 

विराटनगरले अनुबन्ध गरेको फाफ डु प्लेसी दक्षिण अफ्रिकाका पूर्वकप्तान समेत हुन्। उनले चेन्नइ सुपर किङ्सबाट आईपीएल र सेन्ट लुसिया किङ्सबाट सीपीएलको उपाधि उचालिसकेका छन्। 

उनले ४ सय २४ टी–२० खेलमा ११ हजार ९ सय ६ रन बनाइसकेका छन्। उत्कृष्ट फिल्डिङ क्षमता भएका उनले २ सय ११ क्याच लिएका छन्। 

यस्तै दक्षिण अफ्रिकाका पेस बलर मर्सन्ट डे लाङ्गालाई विराटनगरले अनुबन्ध गरेको छ। कोलकाता नाइड राइडर्सले सन् २०१२ र २०१५ मा मुम्बई इन्डियन्सले आईपीएल जित्दा उनी टोलीका सदस्य थिए। 

विराटनगरले न्युजिल्यान्डका मार्टिन गप्टिललाई पनि टोलीमा समेटेको छ। सन् २०१५ को एक दिवसीय विश्वकपमा गप्टिलले वेस्ट इन्डिजविरुद्ध १ सय ६३ बलमा २ सय ३७ रनको अविजित पारी खेलेका थिए। 

सुदूरपश्चिम रोयल्सनले एनपीएलको दोस्रो सिजनमा अस्टे«लियाका क्रिस लिनलाई अनुबन्ध गरेको छ। सन् २०२०–२१ मा मुम्बई इन्डियन्सले उपाधि जित्दा क्रिस लिन सदस्य थिए। 

कर्णाली याक्सले यो सिजन नेदरल्यान्ड्सका म्याक्स ओ डाउडलाई लिएको छ। उनले सन् २०२१ को टी–२० विश्वकप खेलेका थिए। यस्तै सन् २०२३ र २४ को विश्वकप समेत खेलेका थिए। 

यस्तै, साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो सिजनको एनपीएलमा दक्षिण अफ्रिकाका  इमरान ताहिरलाई अनुबन्ध गरेको छ। ४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दा २९३ विकेट लिएका छन्। 

सन् २०१९ मा उनले आईपीएलमा सर्वाधिक विकेट लिएर ताहिरले पर्पल क्याप जितेका थिए।  आईपीएलमा ताहिरले राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किङ्सबाट खेलिसकेका छन्। विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका ताहिरले ४४६ टी–२० खेलमा ५७० विकेट लिएका छन्। उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिताहरू जितेका छन्। 

जनकपुरमा दक्षिण अफ्रिकाका फास्ट बलर वायन पार्नेल आउँदैछन्। पार्नेलले सन् २००६ मा श्रीलंकामा भएको आईसीसी यू–१९ विश्वकप खेलेका थिए भने त्यसको २ वर्षपछि मलेसियामा भएको यू–१९ विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए। पार्नेलले इन्डियन प्रिमियर लिगमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट खेलिसकेका छन्। 

इंग्ल्यान्डका डाविड मलन अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका खेलाडी हुन्। उनी यो पटक चितवनको जर्सीमा टीयूको मैदानमा देखिनेछन्। ३८ वर्षीय बायाँहाते ब्याटर मलनले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ खेलमा १ शतक र १६ अर्धशतकसहित १८९२ रन बनाएका छन्। 

इंग्ल्यान्डले सन् २०२२ मा टी–२० विश्वकपको उपाधि जित्दा मलन टोलीका सदस्य थिए। मलनले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए। 

इटलीका राइट ह्यान्ड ब्याटर तथा मिडियम पेस बलर थोमस ड्राका लुम्बिनीमा अनुबन्ध भएका छन्। २५ वर्षीय ड्राकाले ७ टी–२० खेलमा ८ विकेट लिएका छन्। ड्राकाले इटलीका लागि ७ टी२०आई खेल खेल्दै ८ विकेट लिएका छन्। इटलीलाई पहिलो पटक टी–२० विश्वकपमा छनोट गराउन ड्राकाले महत्वपूर्ण भूमिका खेलेका थिए। 

अफगानिस्तान राष्ट्रिय टोलीका पूर्वकप्तान तथा अलराउन्डर गुलबादिन नैबलाई यो सिजन लुम्बिनीको जर्सीमा देख्न पाइनेछ। ३४ वर्षीय अलराउन्डर गुल्बादिनको कप्तानीमा अफगानिस्तानले सन् २०१९ को एकदिवसीय विश्वकप खेलेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad