खेल


अफगानका गुल्बादिन नैब लुम्बिनी लायन्समा

अफगानका गुल्बादिन नैब लुम्बिनी लायन्समा

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १८:३५, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका अलराउन्डर गुल्बादिन नैबलाई अनुबन्ध गरेको छ।

लुम्बिनी लायन्सले आउँदो मंसिर १ गतेदेखि सुरू हुने एनपीएलको दोस्रो सिजनका लागि नैबलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। लुम्बिनीले यसअघि नै अस्ट्रेलियाका डार्शी सर्ट र इटालीका थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ। 

३४ वर्षीय अलराउन्डर गुल्बादिन अफगानिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान समेत हुन्। उनको कप्तानीमा अफगानिस्तानले सन् २०१९ को एकदिवसीय विश्वकप खेलेको थियो। उनी दायाँ हाते ब्याटर र दायाँ हाते मिडियम पेस बलर हुन्।  

उनले अफगानिस्तानका लागि ८९ एकदिवसीय र ७८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सन् २०११ मा क्यानडा विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र सन् २०१४ मा नेदरल्यान्डस् विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा अफगानिस्तानका लागि डेब्यू गरेका थिए। 

टी-२० अन्तर्राष्ट्रियमा उनले तीन अर्धशतक सहित ९६८ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च स्कोर ५७ रन हो। 

यस्तै एकदिसीय अन्तर्राष्ट्रियमा ७४ र टी-२० अन्तर्राष्ट्रियमा ३५ विकेट लिएका छन्। टी-२० अन्तर्राष्ट्रियमा २० रन खर्चेर चार विकेट लिएको उनको उत्कृष्ट बलिङ हो। 

नैबले इन्डियन प्रिमियर लिग (आईपीएल) देखि बंगलादेश प्रिमियर लिग, इन्टरनेशनल लिग टी-२०, अफगानिस्तान प्रिमियर लिग समेत खेलेका छन्। उनले सन् २०२४ को आईपीएलमा दिल्ली क्यापिटल्सका लागि दुई खेल खेलेका थिए। 

अफगानिस्तानका लागि डेब्यू खेलमा ओपनिङ गरेका नैब त्यसपछि भने मिडिल अर्डरमा ब्याटिङ गर्दै आएका छन्। उनले एकदेखि नौ नम्बरसम्म सबै पोजिसनमा ब्याटिङ गरेका छन्। 

नैबको अनुबन्धले टोलीको मिडिल अर्डर सन्तुलित हुने लायन्सको विश्वास छ। ‘हामी लुम्बिनी लायन्समा गुल्बादिन नैबलाई स्वागत गर्न पाउँदा अत्यन्त उत्साहित छौं। धेरै अनुभव र उर्जाका साथ उनले आफूलाई म्याच विनरको रुपमा प्रमाणित गरिसकेका छन्,’ लुम्बिनी लायन्सका मुख्य प्रशिक्ष टिन योहान्नान भन्छन्, ‘उनको उपस्थितिले हाम्रो टोलीमा गहिराइ र शक्ति थप्नेछ। साथै उनले मैदानभित्र र बाहिर दुवै स्थानमा टोलीलाई प्रेरित गर्नेछन् भन्ने हामी विश्वस्त छौं।’

लुम्बिनी लायन्सले दोस्रो सिजनका लागि आईपीएल विजेता प्रशिक्षक रोबिन सिंहलाई मेन्टर तथा भारतीय क्रिकेट टिमका पूर्व खेलाडी तथा रणजी ट्रफीमा केरलाका प्रशिक्षक रहिसकेका टिनु योहान्नानलाई अनुबन्ध गरेको छ। लुम्बिनी लायन्सले मार्की खेलाडी रोहितकुमार पौडेलसहित सन्दिप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारीलाई रिटेन गरेको थियो भने दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad